काठमाडौं /१ मंसिर– निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सनन)ले यो वर्षको ‘प्याब्सन एसईई प्रि-बोर्ड परीक्षा’ माघ १५ गतेबाट सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यार्थीलाई सहज बनाउने उदेश्यले प्याब्सनले आफु महातहतका सदस्य विद्यालयहरुमा प्याब्सन एसईई प्रि-बोर्ड परीक्षा सञ्चालन गर्न लागेको हो ।
प्याब्सनका महासचिव आरबी कट्वालले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै प्याब्सन एसईई प्रि-बोर्ड परीक्षा माघ १५ गतेदेखि २३ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको बताए ।
साथै प्याब्सनले कक्षा ११ र १२ को परीक्षा पनि सञ्चालन गर्ने निर्णय भएको महासचिव कट्वालले जानकारी दिए । उनले मिति तय नभएपनि तुरुन्त बैठक बसी कक्षा ११ र १२ को परीक्षा सञ्चालन मिति सार्वजनिक गरिने बताए ।
पालिका, जिल्ला र प्रदेश भेला :
प्याब्सनले आफ्नो भेला एकै दिनमा सबै पालिकामा गर्ने भएको छ । प्याब्सनका अनुसार पालिका भेला मंसिर १७ गते जिल्ला भेला मंसिर २४ गते हुने भएको हो । भेला सबै पालिकाको र जिल्लाको एकै दिनमा तोकिएको मितिमा हुनेछ ।
त्यसैगरी प्रदेश भेला भने छुट्टा छुट्टै हुनेछ । प्रदेश भेलामा भने एउटा प्रदेशलाई दुई दिनको समय छुट्टाइएको प्यब्सनले जनाएको छ । एकदिन भेला गरीने र एक दिन लिडरसिप र विद्यालय व्यवस्थापनको तालिम सञ्चालन गरीने जनाएको छ ।
प्रदेश भेला सुदुरपश्चिम प्रदेशको धनगडीमा पुस १ र २ गते, कर्णाली प्रदेशको सुर्खेतमा पुस ३ र ४ गते, लुम्बिनी प्रदेशको वुटवलमा पुस ६ र ७ गते, गण्डकी प्रदेशको नवलपुरमा ८ र ९ गते, बागमती प्रदेशको काठमाडौंमा १२ र १३ गते, मधेश प्रदेशको बर्दिवासमा १५ र १६ गते र प्रदेश नं. १ को इटहरीमा १७ १८ गते भेला गर्ने निर्णय भएको छ ।
विविध कार्यक्रम सञ्चालन गर्ने :
प्याब्सनले देशभरका विद्यालयमा विभिन्न विविध कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ । जस्मा देशव्यापि रुपमा प्रसिडेण्ट कप, प्याब्सन राष्ट्रिय बाल नाट्य महोत्सव र प्यब्सन आइडल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्नका लागि देशैभरको स्थानीय तह देखिनै यस्ता खालका कार्यक्रम सञ्चालन गरीने जनाएको छ ।



