निर्वाचनमा खटाइएका शिक्षकहरुको मर्यादामा गुनासो

चितवन/२९ कार्तिक-निर्वाचन आयोगले विभिन्न जिल्लामा आगामी २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य निर्वाचन सम्पन्न गर्न खटाइएका शिक्षकहरुको मर्यादामा आँच आउने गरि तल्लो तहको जिम्मेवारी दिइएको गुनासो जतासुकै सुन्न सकिन्छ । यो सँगै एकाध निजामती कर्मचारीमा पनि यस्तो असमानता देखिएको गुनासो छ ।


कतिपय जिल्लामा त मर्यादाक्रममा हेपिएकोले निर्वाचनमा कर्मचारीको रुपमा जान नसकिने भनी मुख्य निर्वाचन अधिकृतलाई असहमति पत्र नै पठाएर असन्तुष्टि व्यक्त गरेको देखियो । निर्वाचन आयोगले यस्ता त्रुटी सच्याउन जरुरी छ । निर्वाचन आयोगले आफ्नो नियमावली र निर्देशिकामा निर्वाचनमा कर्मचारी खटाउँदा निजामती कर्मचारी अपुग भएमा स्थायी शिक्षकहरु मध्येबाट खटाइने छ भन्ने उल्लेख गरेर शिक्षकहरुलाई बैकल्पिक कर्मचारी बनाउनु आपत्ति जनक छ । यसमा शिक्षकका पेशागत संगठनहरुले बिज्ञप्ति निकालेर औपचारिकता मात्रै पूरा गरे तर आफ्ना मातहतका शिक्षकहरुलाई निर्वाचनमा सहभागी हुनबाट रोकेनन् ।


जिल्लागत रुपमा निर्वाचनमा खटिने निजामती कर्मचारी अधिकृत छैटौं स्तर र सो भन्दा माथिकालाई मतदान अधिकृत (माध्यमिक तहको शिक्षक) र पाँचौ तहको कर्मचारी (निम्न माध्यमिक तहको शिक्षक) लाई सहायक मतदान अधिकृत बनाइनु पर्नेमा निमा द्वितीय वा प्रथम श्रेणीका शिक्षकलाई समेत मतदान अधिकृत बनाइयो,जुन गलत हो । श्रेणी भनेको तह होइन । आर्थिक रुपले निजको वृत्ति विकासका लागि निजलाई दिइएको सम्मान कसरी माथिल्लो तहको हुन्छ ? कुनै पनि विद्यालयमा तल्लो तहको प्रथम श्रेणीको शिक्षक भन्दा माथिल्लो तहको तृतीय श्रेणीको शिक्षक नै वरिष्ठ हुन्छ ।


प्राथमिक द्वितीय शिक्षकलाई सहायक मतदान अधिकृत बनाएर निमा तृतीय शिक्षकलाई सहायक कर्मचारी बनाइनु कसरी न्याय संगत हुन्छ ? मावि तृतीय र निमा प्रथम वा द्वितीय, निमा तृतीय र प्रावि प्रथम वा द्वितीय एउटै तह होइन । अर्को कुरा स्थायी शिक्षकलाई पहिलो प्राथमिकता दिनु पर्नेमा स्थायी शिक्षकलाई वञ्चित गरि अस्थायी र राहत शिक्षकलाई निर्वाचनमा खटाइनु कसको लापरबाही हो ? कसरी न्याय संगत हुन्छ ?


जिल्ला न्यायाधीश जिल्लाको मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारी जिल्लाको निर्वाचनको प्रमुख संरक्षक हुने व्यवस्था अनुरुप निजहरुले कर्मचारी खटनपटनमा ध्यान दिएको देखिएन । अर्को विडम्बना त के भने प्राथमिक शिक्षकलाई मावि उल्लेख गरेर मतदान अधिकृतमा र मावि राहत शिक्षकलाई प्रावि उल्लेख गरेर कर्मचारीमा समेत नियुक्ति दिइयो । आफ्ना मातहतका शिक्षकहरुको विवरण शिक्षा समन्वय इकाई र स्थानीय तहको शिक्षा शाखामा अद्यावधिक हुनु पर्दैन ? शिक्षकहरुले पनि समयमै यस्ता त्रुटीलाई प्रमुख जिल्ला अधिकारी समक्ष प्रमाण सहित निवेदन दिएर सच्याउन सहयोग गर्नु पर्छ ।


नियतवश स्थायी शिक्षकहरुलाई छुटाएर अस्थायी,राहत,निजि स्रोत शिक्षकलाई निर्वाचनमा सिफारिस गर्ने गैरजिम्मेवार कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतले कार्वाहीको लागि सिफारिस गर्नु पर्छ ।


तहगत मर्यादामा अपमान हुनेगरि गरिएको नियुक्तिमा सहमति जनाएर लुरुलुरु अपमान सहेर दुई चार हजारको लोभमा आफ्नो हैसियत बिर्सने शिक्षक कै कारण आज आम शिक्षकहरु घृणा र हेलाको पात्र भएका छन् । राज्यले दिएको जिम्मेवारी पूरा गर्नुपर्छ तर पदीय हैसियत अनुसारको जिम्मेवारी पाएमा मात्रै । शिक्षकका पेशागत भनिएका संघ, संगठन र महासंघ किन यो विषयमा मौन छन् बुझी नसक्नु छ । एउटै पेशा भित्र यस्तो अपमान हुँदा समेत किन सबै शिक्षकहरुले एकै स्वरमा प्रश्न उठाउँदैनन् ? आज आफुलाई समस्या परेन भनेर स्वार्थी बन्ने हो भने भोलि त्यो समस्या सबैलाई न आउला भन्न सकिन्न । श्रीमानहरुले शिक्षकका यस्ता गुनासाहरुलाई आगामी निर्वाचनमा सम्बोधन गर्नै पर्छ ।


शिक्षा न्यौपाने (विद्यार्थी)डेन्टल साइन्स,दोस्रो बर्ष,स्कुल अफ हेल्थ साइन्स,भरतपुर चितवन ।