विद्यार्थीको प्रामाणिक मूल्याङ्कनमा रुब्रिक्सको प्रयोग

काठमाडौँ /२१ कार्तिक-काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसन (जेम्स स्कुल) धापाखेल ललितपुर बिचको समन्वयमा शिक्षकको क्षमता विकासका निम्ति प्रगतिशील शिक्षण सिकाइ तथा प्रामाणिक मूल्याङ्कन विषयमा एउटा कार्यशाला सम्पन्न भएको छ । कक्षागत सिकाइलाई कसरी अझ प्रभावकारी बनाउने र सिकाइ मूल्याङ्कनलाई कसरी प्रामाणिक बनाउने भन्ने कुरा नै यस कार्यशालाको उद्देश्य रहेको थियो ।


परम्परागत शिक्षण विधि भन्दा पनि विद्यार्थीमा व्यवहारिक ज्ञान र उच्च दक्षता हासिल गर्न उनीहरुमा आलोचनात्मक सोचाई र समस्याको समाधानमा रचनात्मक सिप विकास हुने किसिमको सिकाइकाबारे उक्तकार्यशालामा प्रयोगात्मक छलफल गरिएको थियो । सम्बन्धित विषय शिक्षकहरुको समूह निर्माणगरी उत्तर पुस्तिकामाथि प्रत्येक शिक्षकले मूल्याङ्कनका विभिन्न मापदण्ड बनाई रुब्रिक्स तयार गरेका थिए ।


सहभागी शिक्षक श्रद्धा अर्याल जोशी सँगको अन्तरक्रियामा उनले रुब्रिक्सले विद्यार्थीको मूल्याङ्कन सही भयोकि भएन भनी शिक्षक अलमलमा पर्नु नपर्ने, मूल्याङ्कन सहज र प्रामाणिक हुने, समयको बचत हुने साथै विद्यार्थीलाई आफ्नो स्वमूल्याङ्कन गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे । शिक्षक प्रकाश श्रेष्ठले रुब्रिक्सको प्रयोगबाट विद्यार्थीको मूल्याङ्कनमा एकरुपता कायम गर्न सकिने, विद्यार्थीको कमजोरी पत्ता लगाई तत्कालै निराकरणको उपाय खोज्न सकिने, विद्यार्थीको क्षमता अनुसारको समूह बनाई अध्यापन गराउन सकिने अवधारणा व्यक्त गरे ।


कार्यशालामा मूल्याङ्कनमा रुब्रिक्सको प्रयोगद्वारा सिकाइ सम्बन्धी हरेक जटिल समस्यालाई पनि सानोसानो टुक्रामा विभाजन गरेर समस्याको रौँचिरात्मक अध्ययन र विश्लेषण गर्न सकिने, रचनात्मक र अनुसन्धानात्मक सिपको विकासमा सघाउ पुर्याउन उपयोगी हुने देखियो ।


विद्यालयमा गरिने यस्ता किसिमका तालिम तथा कार्याशाला गोष्ठीहरु विद्यार्थीको प्रगतिशील शिक्षण सिकाइका लागि कोशेढुङ्गा सावित हुने धारणा तालिममा उपस्थित सम्पूर्ण शिक्षकहरूको रहेको पाइएको छ । काठमाडौँ विश्वविद्यालयका भिजिटिङ फ्याकल्टी वासु प्रसाद सुवेदीले सो कार्यशालालाई सहजीकरण गर्नुभएको थियो ।