स्कुल बसको सुरक्षा बारे सरोकारवालासँग छलफल

काठमाडौं/२० कार्तिक-स्कुल बसलाई सुरक्षित बनाउनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सरोकारवालाहरुसँग छलफल गरेको छ । आज नेपाल अभिभावक महासंघ, हिसान, प्याब्सन र एन प्याब्सनसँगको संयुक्त रुपमा स्कुल बस सुरक्षित बनाउनका लागि छलफल भएको हो ।


छलफलमा विद्यार्थी चढ्ने विद्यालयका बसहरुमा उल्टो सिट बनाएर विद्यार्थी चढाई बस चलाउन नपाइने, क्षमता तथा मापदण्ड विपरीतका सवारी साधनहरु विद्यालयले प्रयोग नगर्ने, विद्यालयका सवारी चालक तथा सहचालकलाई कम्तिमा ६ महिनामा सचेतना कार्यक्रम चलाउने निर्णय भएको नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले बताए ।


गत बुधबार लाजिम्पाटस्थित बेष्ट एलिमेन्ट्री मन्टेसरी स्कुलका विद्यार्थीले स्कुल बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर मृत्यु भएपछि स्कुल बसको सुरक्षामा ट्राफिक प्रहरीले कडाई गर्ने भएको हो ।