गणित शिक्षकले भने : स्टीम शिक्षण सिकाइ आजको आवश्यकता

काठमाडौं/६ कार्तिक-वाग्मती प्रदेशका विद्यालयहरुमा कार्यरत गणित शिक्षकहरुलाई स्टेम/स्टीम विधिको प्रयोग गरी शिक्षण सिकाइ सुधार बारे तीन दिने कार्यशाला सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालयको आयोजना तथा वाग्मती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा वाग्मती प्रदेशका २४ विद्यालयका गणित शिक्षकहरुको तीन दिने कार्यशाला सम्पन्न भएको हो ।


कार्यशालाको उद्घाटन सत्रमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुइटेलले स्टीम शिक्षण विधि २१औँ शताब्दीको शिक्षाको परिवर्तनकारी आशयसँग सम्बन्धित शिक्षण र सिकाइको विधि भएको बताए । कार्यशालाको अभिमुखीकरण सत्रमा, स्टिम विधि के हो ? स्टिम विधि किन आवश्यक छ ? परियोजनामा आधारित सिकाइ के हो ? खोजमा आधारित सिकाइ र कलामा आधारित सिकाइ विधिहरुको प्रयोग कसरी गर्ने सम्बन्धमा शिक्षकहरुको क्षमता विकास गरिएको थियो ।


क्षमता विकास सत्रमा सहभागी गणित शिक्षकहरुले समुहमा वा व्यक्तिगत रुपमा सिकाइ गतिविधिहरु विकास गरी प्रस्तुतीकरण तथा पृष्ठपोषण साटासाट गरेका थिए ।


कार्यशालामा पहिलो दिन काठमाडौ विश्वविद्यालयका उप प्राध्यापक विनोद प्रसाद पन्तले नैतिकता, मानवीयता र दिगोपना सहितको विकासका लागि विद्यार्थीहरुमा सानैदेखि स्टेम/स्टीम निर्देशित आचरणको विकास आवश्यक भएको कुरा बताए । कार्यशालाको संयोजन डा.पार्वती ढुङ्गानाले गरेकी थिइन भने कार्यशालामा सहजकर्ताहरु निरोज दाहाल र सन्दीप ढुंगानाले गरेका थिए ।


सहभागीहरुको तर्फबाट बोल्दै राम हाडाले कार्यशालाबाट स्टेम/स्टीम विधि प्रयोग गर्न सिकाइ क्रियाकलापहरु विकास गर्ने सिप विकास भएको जुन शिक्षण सिकाइमा रुपान्तरण गर्न अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गरेका थिए ।


सिकाइलाई विद्यालयमा कार्यान्वयन गर्न आगामी ६ महिनासम्म निरन्तर टेवा प¥ुयउन अनलाइन कोर्ष समेत विकास भएको र उक्त कोर्षमा सहभागीहरुलाई भर्ना गरिसकिएको कुरा आयोजकले जानाएको थियो ।


यस अघि सोही विद्यालयहरुका प्रअ तथा विव्यस अध्यक्ष वा शिक्षक अभिभावक संघका संयोजकहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम र विज्ञान विषय शिक्षकहरूलाई तीन दिने कार्यशाला सञ्चालन गरिएको थियो ।