सामाजिक सञ्जालमा भोट मागेका शिक्षकलाई कारबाहीका लागि स्पष्टिकरण माग

काठमाडौं/३ असोज-सामाजिक सञ्जाल मार्फत प्रदेश समानुपातिक उम्मेदवारका लागि भोट मागेका शिक्षकलाई स्पष्टिकरण सोधिएको छ । निर्वाचन आयोग जिल्ला आचार संहिता अनुगमन समितिले सामाजिक संजाल मार्फत प्रदेश समानुपातिक उम्मेदवार आफ्नो सानै देखिको साथी भएको भन्दै भोट मागेका कारण स्पष्टिकरण सोधिएको हो ।


जिल्ला आचार संहिता अनुगमन समिति जाजरकोटले निर्वाचन आचारसंहिता, २०७९ विपरीत कर्णाली प्रदेश सभा सदस्य समानुपातिक तर्फका उम्मेदवारको पक्षमा सामाजिक सञ्जाल फेसबुकबाट भोट मागेका नलगाड नगरपालिका वडा नं. ४ स्थित श्री जनकल्याण आधारभुत विद्यालयमा कार्यरत शिक्षक मदन रावललाई स्पिष्टिकरण सोधिएको जनाएको छ ।


रावलले आफ्नो पदीय अहोदा तथा निर्वाचन आचारसंहिताको ख्याल नगरी सामाजिक संजाल मार्फत प्रदेश समानुपातिक उम्मेदवार आफ्नो बाल्यकाल देखिको साथी भएको र प्रत्यक्ष भेटेर भोट मागेका कारण आफुले मतदान गर्ने र आफुलाई पत्याउने अरु जिल्लावासीलाई भोट हाल्न सामाजिक सञ्जालबाट आव्हान गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरीएको छ ।


राजनीतिक दलको चुनाव चिन्ह र उम्मेदवारको फोटो सहितको पोष्टर बनाई आफ्नो फेसबुक खातामा पोष्ट गरी उम्मेदवारको पक्षमा भोट मागि प्रचार प्रसार गरेको कार्यबाट जानाजान निर्वाचन आचारसंहिता उल्लङ्गन समेत भएको पाइएकोले २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न पत्रचार गरिकएको आयोगले जनाएको छ ।


“तपाईको नामबाट सञ्चालित फेसबुक खाता मार्फत निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ विपरित प्रदेश सभा समानुपातिक उम्मेदवारको पक्षमा मतदान गर्न आह्वान गरेको हुँदा (Rawal Madan) रावल मदन नामबाट सञ्चालित फेसबुक खाता तपाईले चलाउने गर्नु भएको छ या छैन ? (Rawal Madan) रावल मदन नामबाट सञ्चालन गरिएको फेसबुक खाताबाट प्रदेश समानुपातिक उम्मेदवार रहनु भएका उम्मेदवारको प्रचार सामाग्री पोष्ट गर्न कसैले करकापमा पारेर वा कुनै किसिमको दबाब दिएको हो ? हो भने कस्ले दिएको हो ? तपाईलाई निर्वाचन आचारसंहिताको दफा ४६ बमोजिम कारबाही किन हुनु नपर्ने ? २४ घण्टा भित्र लिखित जवाफ सहित कोष तथा लेखा नियन्त्रण कार्यालय,जाजरकोटमा उपस्थित हुन निर्देशनानुसार अनुरोध छ” प्रेस विज्ञप्तिमा भनिएको छ ।