कक्षा कोठामा पाठ्यक्रमको प्रयोग बारे विज्ञको सुझाब

काठमाडौँ /२ कार्तिक-काठमाडौँ विश्वविद्यालयको संयोजनमा विभूति विद्यामन्दिरमा सञ्चालित कन्टिन्युअस टिचर्स प्रोफेसनल डेभलभमेन्ट कार्यक्रम अन्तर्गतको तेस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम काठमाडौँ विश्वविद्यालय कार्यक्रम संयोजक डा. पार्वती ढुङ्गानाको संयोजनमा सञ्चालन भएको हो ।


असोज ३० गते विभूति स्कुलको सेमिनारहलमा सञ्चालित यस कार्यक्रमलाई पनि पहिलो र दोस्रो गरी दुई सत्र (चरण) मा सञ्चालन गरिएको थियो । पहिलो सत्रमा कार्यक्रम संयोजक डा. ढुङ्गानाले काठमाडौँ युनिभर्सिटी र विभूति स्कुलको शैक्षिक सहकार्यात्मक सहमति हस्ताक्षर पश्चात् भएको अन्तरक्रियात्मक कार्यक्रमहरूको पुनः स्मरण गराउँदै प्रत्येक शिक्षकले विद्यार्थीहरूले आफूलाई कसरी चिन्छन् अर्थात् विद्यार्थीहरूका बिचमा आफ्नो पहिचान खोज्न अनुरोध गरेका थिए । त्यसरी नै दोस्रो सत्रमा कार्यक्रमका प्रमुख प्रस्तोता नवीन मरासिनी शिक्षण सिकाई क्रियाकलापमा पाठ्यक्रमको भूमिका विषयमा छलफल कार्यक्रम अगाडि बढाउनु भएको थियो । विद्यालयका निर्देशक डा. शंकर कुमार श्रेष्ठ , प्रिन्सिपल राजेश्वर श्रेष्ठसहित उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो ।


पाठ्यक्रम भनेको के हो ? भन्ने प्रश्नसँगै सुरु भएको यस कार्यक्रममा सहभागी शिक्षक शिक्षिकाहरूले पाठ्यक्रमसँग सम्बन्धित आ–आफ्ना धारणाहरू प्रस्तुत गर्नका लागि स–साना समूहमा विभाजन गरी आ–आफ्नो समूहको प्रतिनिधित्व गर्दै आफ्नो विचार व्यक्तगर्न लगाइएको थियो । सबैको धारणाको निष्कर्ष स्वरूप शिक्षण सिकाई क्रियाकलापको मेरुदण्डको रुपमा पाठ्यक्रम रहेको र सोही पाठ्यक्रमलाई आधार मानी सम्पूर्ण गतिविधिहरु सञ्चालन गर्नुपर्ने निचोड निकालेको थियो ।


पाठ्यक्रमका तत्वहरू उद्देश्य, विषयवस्तु, शिक्षण सिकाई क्रियाकलाप र मूल्याङ्कन जस्ता विषयलाई मिहिनतवरले अध्ययन गरी विद्यार्थी केन्द्रित सिकाई क्रियाकलापमा जोड दिनुपर्ने कुरालाई कार्यक्रमका प्रस्तोता नवीन मरासिनीले बताए । यसरी नै थिङ्क पेयर एण्ड सेयर भन्ने मान्यतालाई केन्द्रमा राख्दै विद्यार्थीलाई प्रश्न सोध्ने बनाउन प्रोत्साहित गर्नुपर्छ । पाठ्ययोजना र शैक्षिक सामग्री सहित कक्षामा उपस्थित हुनुपर्ने विषयलाई जोड दिँदै कार्यक्रमको निचोड गरिएको थियो ।