काठमाडौं/१ कार्तिक- “जहाँ महिलाको सम्मान हुन्छ, त्यहाँ इश्वरको वास हुन्छ” । महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् । रथ गुड्न दुईवटै पाङ्ग्रा आवश्यक हुन्छ भने जीन्दगीको रथ गुडाउँन महिला र पुरुष दुवै आवश्यक र महत्वपूर्ण मानिन्छ ।जनसंख्याको दृष्टिले हेर्ने हो भने यस धर्तिमा महिला र पुरुषको संख्या बराबर देखिन्छ । नेपालमा पनि त्यही स्थिति हो । समाजको आधा हिस्सा आगट्ने महिला पछाडि परे भने कसरी विकास गर्न सजिलो होला । विकासका काम अधुरो र अपूर्ण हुने कुरा निश्चित छ । त्यसैले आधा वा बढी भाग समेट्ने महिलाहरु पनि पुरुष सरह शिक्षित हुनु, स्वस्थ हुनु, अवसर पाउनु, विकास हुनु जरुरी छ ।
विकासका काम अधुरो र अपूर्ण हुने कुरा निश्चित छ । त्यसैले आधा वा बढी भाग समेट्ने महिलाहरु पनि पुरुष सरह शिक्षित हुनु, स्वस्थ हुनु, अवसर पाउनु, विकास हुनु जरुरी छ ।
लैङगिक विकास भनेकै महिला र पुरुष दुवैको समान विकासका माध्यमवाट समाजको विकास गर्नु हो । यसरी हेर्दा केवल पुरुषको मात्र होइन र केवल महिलाको मात्र पनि होइन सबैको स्तरोन्नति नभइ समाजका हरेक क्षेत्रमा समानता हुँदैन । समानताको लागि समविकासको अभ्यास जरुरी देखिन्छ ।
संसारको जुनसुकै कुनाकाप्चा र ठाउँमा मानिसहरु बालक वा बालिकाका रुपमा जन्म लिन्छन् । केही अपवाद्का रुपमा परम्परागत परिभाषाले समेट्न नसक्ने प्रकृतिका बालबालिका जन्मन्छन ती तेस्रो लिंग वा अन्यका रुपमा चिनिन्छन । यो जीवजन्तु किराकिरीहरुमा पनि लागू हुन्छ र भालेपोथीका रुपमा परिचित हुन्छन ।
जैविक भिन्नता अथवा प्राकृतिक भिन्नताले गर्दा महिलालाई वच्चा जन्माउने र स्तनपान गराउने जिम्मा पनि प्रकृतिले नै सुम्पेको हुन्छ । वच्चा जन्माउने र स्तनपान गराउने दुवै काम महिलाले नै गर्नैपर्ने हुन्छ । यो प्रक्रिया पशुपंक्षी, जनावर, किटपतंग सबैमा लागू हुन्छ । यो कार्य मैले गर्दिन भनेर अथवा अरुलाई जिम्मा दिन्छु भनेर पार लाग्ने विषय होइन । जैविक अथवा प्राकृतिक भिन्नता एकै किसिमको र परिवर्तन गर्न नसकिने हुन्छ भने सामाजिक भिन्नता ठाउँ, परिवेस, सँस्कृति, धर्म अनुसार फरक फरक हुन्छ र परिवर्तन गर्न सकिन्छ ।
समाज र समाजमा बस्ने मानिसहरुले धेरैजसो महिला र पुरुषका लागि अलग अलग भूमिका, नियम बनाएको पाइन्छन । जस्तै पुरुषले घरबाहिर गएर कमाइ गरेर ल्याउने महिलाले घरगृहस्थी चलाउने, तर महिला पुरुषलाई दिइएको जिम्मेवारी र भूमिका महिला पुरुष दुवैले गर्न सक्छन ।
लैंगिक समानता सम्वन्धमा संवैधानिक र नीतिगत व्यवस्था :
नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक हकका रुपमा स्थापित गरेको छ । समानताको हक अन्तर्गत सामाजिक साँस्कृतिक दृष्टिले पिछडिएका महिला दलित आदिवासी जनजाति मधेसी थारु मुस्लिम उत्पिडित पिछडा वर्ग अल्पसंख्यक सीमान्तकृत वालवालिका ज्येष्ठ नागरिक यौनिक तथा अल्पसंख्यक अपांगता भएका व्यक्ति आदिको संरक्षण सशक्तिकरण वा विकासका लागि कानून वमोजिम विशेष व्यवस्था गर्न सकिने उल्लेख छ ।
दिगो विकास लक्ष्य ४ ले सबैका लागि समावेसी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवन पर्यन्त सिकाइका अवसरहरु प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । पन्ध्रौ योजनाले लैंगिक समानतामूलक राष्ट्र निर्माण गर्ने सोँच लिएको छ ।
शिक्षा नीति २०७६ मा पनि समावेसी र विशेष शिक्षा सम्वन्धमा विभिन्न उपायहरु अबलम्वन गरिदै लगिने कुरा उल्लेख गरिएको छ । अनिवार्य तथा निशुल्क शिक्षा सम्वन्धी एन २०७५ मा पनि सबै नागरिकलाई गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको अधिकार हुनेछ, शिक्षा प्राप्त गर्न कसैलाई कुनै पनि आधारमा भेदभव गरिने छैन र सबै बालबालिकालाई शिक्षा प्रदान गर्नु राज्यको दायित्व हुने कुरा उल्लेख छ साथै पाठ्यपुस्तक, छात्रवृत्ति, निशुल्क शिक्षा, दिवा खाजा उपलव्ध गराउन सकिने कुरा समेत उल्लेख गरिएको छ ।
शिक्षा सम्वन्धी अन्य विभिन्न दस्तावेजहरुले पनि सबै बालबालिकाको लागि सर्वसुलभ गुणस्तरीय शिक्षा सुनिश्चितका लागि बोलेका छन् । यसको सफल कार्यान्वयन गर्न तीनवटै तहका सरकार जिम्मेवार छन् र हुनुपर्छ । गुणस्तरीय सिकाइ हुनका लागि सिक्ने सिकारु सबै किसिमबाट स्वस्थ, सुरक्षित र तन्दुरुस्त हुनुपर्छ । सिकारुलाई स्वास्थ्य, पोषण, सरसफाइ, सुरक्षाका साथै विद्यालयमा पढन र अन्य क्रियाकलाप गर्नका लागि सबै खालका भौतिक सुविधाहरु अनिवार्य हुन ।
विद्यालयमा लैंगिक समानता तथा समता कायम गर्न गरिएका प्रयासहरु :
विद्यालयहरुमा लैंगिक समानता तथा समता कायम गर्न विभिन्न खालका प्रयासहरु हुँदै आएका छन् । सरकारी तथा गैर सरकारी संघसंस्थाहरुको प्रयासवाट शिक्षा क्षेत्रमा केही उल्लेखनीय कामवाट उल्लेखनीय प्रभाव र उपलव्धी भएका छन भने केही क्षेत्रमा अझ पनि मेहनत गर्नुपर्ने देखिन्छ । छात्राहरुको शिक्षामा पहुँच बढाउन, गुणस्तरीय शिक्षा प्रदान गर्न, विद्यालय निरन्तरता र कक्षा निरन्तरता दिन, रमाई रमाई विद्यालय जान र सिक्नका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रमहरु संचालन भएको अवस्था छ । बालबालिकालाई झिकाउने, सिकाउने, टिकाउने र विकाउने वनाउन सक्ने शिक्षा प्रदान गर्न सक्नु आजको आवश्यकता हो । यस्ता प्रोत्साहनमूलक कार्यक्रमहरुले यसमा सहयोग पु¥याउन सकेको देखिन्छ ।
बालबालिकालाई झिकाउने, सिकाउने, टिकाउने र विकाउने वनाउन सक्ने शिक्षा प्रदान गर्न सक्नु आजको आवश्यकता हो । यस्ता प्रोत्साहनमूलक कार्यक्रमहरुले यसमा सहयोग पु¥याउन सकेको देखिन्छ ।
२०७८/७९ मा विद्यालयहरुमा छात्रा मैत्री कार्यक्रमहरु :
१. निशुल्क सेनिटरी प्याडको लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको :
कक्षाः ६ देखि १२ कक्षासम्मका सबै छात्राहरुलाई (महिनावरी शुरु भएदेखि १२ कक्षा सम्म) आर्थिक वर्षमा १३ लाख ३९ हजार ९ सय ४३ जना छात्राहरुले यो सुविधा लिएका छन् र जम्मा वजेट १ अर्ब ५० करोड रहेको छ । केही विद्यालयहरुमा सेनिटरी प्याड लिन भेन्डिङ मेसिन र प्रयोग भएको प्याड नष्ट गर्ने मेसिन समेत व्यवस्था गरेका छन् ।
२. निशुल्क पठ्यपुस्तकका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको,
३. निशुल्क शिक्षा :
क. आधारभूत तह कक्षा १–८ अनिवार्य र निशुल्क,
ख. माध्यमिक तह ९–१२ कक्षा निशुल्क
४. छात्रवृत्तिको लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको :
क. आवासिय छात्रवृत्ति कक्षा ४ देखि १२ कक्षासम्म
ख. गैर आवासिय छत्रवृत्ति कक्षा १ देखि १२ सम्म (छात्रा छात्रावृति, दलित छात्रवृत्ति, जनजाती छात्रावृत्ति, अपाङगता भएका व्यक्तिका लागि छात्रवृत्ति, विपन्न परिवार, सिमान्तकृत समूह आदि)
५. विद्यालय दिवा खाजा कार्यक्रम : प्रारम्भिक बालविकास देखि ५ कक्षासम्मका सबै सामुदायिक विद्यालयका सबै वालवालिकाका लागि दिवा खाजाका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको । यस आर्थिक वर्ष २०७९/८० मा कक्षा ६ सम्म लागु हुने ।
६. छात्राका लागि सवै विद्यालयहरुमा छुट्टै शौचालयको व्यवस्था गरेको र कोभिड १९ पछि केही विद्यालयमा विथ वास सहित शौचालय निर्माण भएका छन् ।
७. महिला शिक्षकहरुको व्यवस्था : आधारभूत तहमा ४६.५५ प्रतिशत, माध्यमिक तहमा २०.४५ प्रतिशत र बालविकास कक्षाका बालशिक्षक ९२.५ प्रतिशत महिला कार्यरत छन् ।
८. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत पढ्दै कमाउँदै कार्यक्रम विद्यालयहरुमा सञ्चालन भइरहेको अवस्था छ ।
शिक्षामा लैङगिक समानता तथा मूल प्रवाहीकरणका लागि उपर्युक्त अनुसार कार्यक्रमहरुको अतिरिक्त समग्र रुपमा शिक्षालाई समतामूलक गुणस्तरीय सवैको पहुँचयोग्य वनाउन विद्यालय भौतिक पूर्वाधार निर्माण, शिक्षक दरवन्दी, पुस्तकालय, शिक्षकको क्षमता विकास तथा तालिम, प्रविधिक धारका विद्यालयका लागि अनुदान, विद्यालय संचालन तथा व्यवस्थापन अनुदान, सूचना प्रविधि आदि विविध कार्यक्रमहरुको लागि स्थानीय तह मार्फत वजेटको व्यवस्था गरेको छ । संघीय तह प्रदेश र स्थानीय तह संघसंस्थाहरु र विद्यालयहरुले समेत लैङगिक समानता र समताका विषयमा योजना तथा कार्यक्रमहरु निर्माण गरी प्रतिवद्ध हुदै अगाडि वढेको पाइन्छ ।
यति हुँदाहुँदै पनि समाजमा जानेर वा नजानेर साना वा ठूला महिला हिंसाका घटनाहरु भइरहेको पाइन्छ जसको प्रभाव छात्रा/केटी शिक्षालाई परेको हुन्छ । समाजमा विभिन्न क्षेत्र र परिवेशले उनीहरुको शिक्षालाई प्रभाव परेको पाइन्छ । जस्तै :
१. घरपरिवारबाट :
घर बालबालिकाहरुको पहिलो पाठशाला र स्कूल हो भने बुबा आमा उनीहरुको पहिलो गुरु । जहँबाट उनीहरुले बोल्न हास्न खान लगाउन हिड्न सवैकुरा सिकेका हुन्छन् । अभिभावकले सवै क्रियाकलापहरु गर्दा, बोल्दा बालबालिकाहरुले अनुकरण गर्ने हुनाले राम्रो बोल्नु असल एवं उचित व्यवहार गर्नु पर्ने हुन्छ । कतिपय अभिभावकहरु यो छोरा वा छोरी सानो छ यसले केही बुझ्दैन भनेर भेदभाव गरिरहेका हुन्छन । तर उनीहरुले ती कुराहरु बुझिरहेका हुन्छन । अभिभावकहरुले निम्न कुराहरुमा बालबालिकामा भेदभाव गरिरहेका हुन्छन :
क) अभिभावकहरुले छोरालाई वढी महत्व दिइरहेका हुन्छन जस्तै शिक्षा, स्वास्थ्य, खान, लगाउन आदि,
ख) छोरीलाई घरायसी कामको वोझ थोपरिएको हुन्छ,
ग) छोरीको छिटो विवाह गरी दिने चलन,
घ) छोरीलाई स्वतन्त्रताको कमी ।
२. साथीबाट :
क) विद्यालयमा, बाटोमा केटा साथीले जिस्काउने, हेपेर कुरा गर्ने,
ख) कक्षामा प्रश्न गर्दा हास्ने खिसीटिउरी गर्ने,
ग) शौचालयमा अश्लिल शव्दहरु लेख्ने,
घ) केटासँग नाम जोडेर जिस्काउने,
ङ) शैक्षिक असफलता हुँदा जिस्काउने ।
३. विद्यालयबाट :
क) पुग्ने किसिमले छात्रा शौचालय र पानीको अभाव,
ख) शिक्षकहरुको यौनजन्य दुर्व्यवहार,
ग) सवै बालबालिकाहरुमा समान दृष्टि पु¥याउन नसक्नु, पछाडिका वेन्चमा के भइरहेको छ थाहा नहुनु,
घ) सचेतनामूलक कार्यक्रम संचालन नगर्नु ।
४. समाजबाट :
क) केटीको व्यवहार बढी निगरानी राखेर नकारात्मक टिकाटिप्पणी गर्ने,
ख) केटीलाई कम स्वतन्त्रता एवं कम अवसर उपलव्ध गराउन खोज्ने,
ग) सामाजिक संस्कार धार्मिक परम्पराहरुको बढी विश्वासमा पर्ने ।
समाधानका उपायहरु :
१. घरपरिवार :
क) अभिभावकहरुले छोरा र छोरीमा भेदभाव नगर्ने,
ख) कामको बोझ सबैले लिने र बराबर काम गर्ने वातावरण मिलाउने,
ग) छोरीहरु साना साना कुरामा झर्किने, रिसाउने, एकान्तमा वस्ने, दुःखी हुने र निष्क्रिय हुने भएमा के समस्या भएको हो नरिसाइ सोध्ने, साथीको जस्तै व्यवहार गरी अनुभव, पिडा, अनुभूति तथा सोचाइ भन्न लगाउने र सकारात्मक सुझाब दिइ समस्या समाधान तर्फ लाग्नु वेस हुन सक्छ,
घ) पढाइ र उसको रुची अनुसारको काममा सँधै प्रोत्साहन गर्ने,
ङ) छिटो विवाह नगरिदिने,
च) सबैलाई सम्मानजनक व्यवहार गर्ने,
छ) पढाइलाई मात्र महत्व नदिएर उनीहरुको कामलाई रुचिलाई र क्षमताको पनि कदर गर्ने, नकारात्मक रुपमा पढाइ र प्रगतिलाई तुलना नगर्ने ।
२. साथी :
क) केटी साथीहरुलाई केटा साथीहरुले कुनै पनि वहानामा जिस्काउने होच्याउने हेप्ने नगरी सम्मान जनक व्यवहार गर्ने, आफूले सम्मान गरेपछि मात्र अरुको सम्मान आफूले पनि पाइन्छ भन्ने कुरा सवैले हेक्का राख्ने,
ख) शौचालय, पर्खाल आदिमा अश्लिल शब्द नलेख्ने, यसरी लेख्दा भित्ता पनि फोहर हुन्छ र साथीलाई पनि तनाब हुन्छ र नराम्रो पनि लाग्छ,
ग) सधै सहयोगी र सकारात्मक भावना राख्ने, साथीलाई सहयोग गर्दा मनमा आनन्द र खुशी मिल्छ ।
३. विद्यालय :
क) केटा र केटीका लागि छुट्टाछुट्टै पानी सहितको शौचालयको निर्माण गर्ने,
ख) शौचालयका भित्तामा अश्लिल शब्द, चित्र कोर्ने वातावरणलाई रोक्ने,
ग) बालिकाहरुले सुरक्षित, सम्मानित एवं सुखद अनुभव महसुस गर्न सक्ने वातावरण निर्माणमा जोड दिने,
घ) बालिकाहरुले आफूलाई विद्यालय सरोकारवाला सबैबाट हेरचाह र सुरक्षित छु भन्ने कुरा अनुभव गर्न सकुन,
ङ) साथी र शिक्षकवाट यौन दुर्व्यवहार होइन कि राम्रो सम्वन्ध स्थापना गर्न सहयोग पुग्ने खालका सिकाइ विधि, शिक्षण क्रियाकलापहरु, समूह सहभागितात्मक शिक्षण विधिको प्रयोग गर्ने,
च) सबै बालबालिकाहरुले शिक्षकको समान ध्यान पाउने र बालबालिकाहरुले पनि समान सहभागिताको अवसर पाउन सक्ने वातावरण वनाउन सक्नुपर्छ,
छ) बालबालिकाहरुको सिर्जना एवं प्रतिभा देखाउने अवसरलाई सँधै प्रोत्साहन गर्ने,
ज) महिला शिक्षकहरुको संख्या बढाउँदै लैजाने,
झ) छात्राहरुको संवेदनशीलता र मनोभाव बुझ्ने सिकाइ व्यवहार र सिकाइ स्थलको वातावरण वनाउने,
ञ) लैङ्गिक हिंसाको मात्रा विद्यालय वा शिक्षालयहरुमा पूर्ण रुपमा नभएको विश्वास दिलाउने
ट) शिक्षक र विद्यार्थीले अनिवार्य रुपमा विद्यालय पोषाक लगाउने ।
४. समाज :
क) केटीको व्यवहार वढी निगरानी नगर्ने र नकारात्मक टिकाटिप्पणी नगर्ने,
ख) केटीहरुलाई पनि स्वतन्त्रता एवं अवसर उपलव्ध गराउने,
ग) सामाजिक संस्कार, धार्मिक परम्पराहरुलाई लैङगिक मैत्री बनाई शिक्षामा पहुँच वढाउन पहल गर्ने ।
विद्यालय तहमा अध्ययनरत बालिका र केटीहरुमा घरपरिवार साथी विद्यालय आदिबाट लैङ्गिक विभेद भइरहेको अवस्थामा समाजले पनि रुढिबादी परम्परा सामाजिक संस्कार मूल्य मान्यता धार्मिक परम्परा आदिका आडमा रहेर विभिन्न प्रकारका विभेद गरिरहेको पाइन्छ । समाज त्यस्तो ठूलो ठाउँ हो जहाँ घरपरिवार व्यक्ति विद्यालय आदि रहेका हुन्छन । व्यक्तिको स्कूले शिक्षाले सामाजिक रुपान्तरण हुनेकुरा नकार्न सकिन्न ।
समाजका रुढिबादी परम्परा धार्मिक मूल्य मान्यताहरुले प्रदान गरेका कुराहरु मध्ये राम्रा कुराहरु ग्रहण गर्दै नराम्रा कुराहरुलाई शिक्षा र सिकाइबाट परिमार्जित गर्दै जानु असाध्यै वुद्दिमानी हुन्छ । समाजसँग सँस्कृति जोडिन्छ सँस्कृतिसँग मानिस । मानिस सामाजिक प्राणी पनि भएकाले समाजको विधिविधान र चलन चल्तीलाई अगाल्नु पर्ने हुन्छ । फलस्वरुप देखिने गरी वा नदेखिने गरी शुक्ष्म तरिकाले विभेद भएको महसुस हुन्छ ।
(लेखक रमा अर्याल पन्थी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, प्रारम्भिक बालशिक्षा तथा विद्यालय पोषण शाखाकी उपसचिव हुन्)



