पाठ्यक्रम परिवर्तन हुँदैन, अफवाह फैलाइयो : शिक्षक सेवा आयोग

काठमाडौं/२७ असोज-शिक्षक सेवा आयोगले तत्काल कुनै पनि पाठ्यक्रम परिवर्तन गर्ने योजना नरहेको जनाएको छ । विभिन्न अनलाइन माध्यम, सामाजिक सञ्जाल र तयारी कक्षा सञ्चालकहरुले अफवाह फैलाएको भन्दै पाठ्यक्रम परिवर्तन नहुने जनाएको हो ।


शिक्षक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक परीक्षा वा अध्यापन अनुमति पत्रको परीक्षाका सन्दर्भमा पाठ्यक्रम परिवर्तन हुने हो कि भन्ने धेरै जिज्ञासा आएको र यो विषयलाई लिएर आयोगको गम्भिर ध्यनाकर्षण भएको आयोगका सूचना अधिकारी सुर्दशन मरहठ्ठाले खबर एजुकेशनलाई बताए ।


उनले भने “आयोगले पाठ्यक्रम परिवर्तन गर्ने सन्दर्भमा अहिलेसम्म कुनै निर्णय वा तयारी गरेको छैन यो अफवाह फैलाइएको हो । पाठ्यक्रम परिवर्तन हुन्छ की भनेर कोही पनि भ्रममा नपर्नु होला । शिक्षक सेवा आयोगले विगतमा पाठ्यक्रम जुन तय गरेको छ त्यही पाठ्यक्रमबाट परीक्षा हुने कुरामा विश्वस्त भएर आफ्नो तयारीमा लाग्न आग्रह गर्दछु ।”