कक्षा ११ मा निःशुल्क शिक्षा

काठमाडौं/१३ असोज काठमाडौंको शंखरापुर नगरपालिकाले कक्षा ११ को शिक्षा निःशुल्क गरिएको जनाएको छ । १ सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै कक्षा ११ को शिक्षा निःशुल्क गरिएको जनाएको हो ।


बुधबार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिने उपलब्धी सार्वजनिकीकरण कार्यक्रममा नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले शिक्षा तर्फ कक्षा ११ को शिक्षा निःशुल्क गरिएको छ भने स्थानीय मातृभाषा ‘नेपाल भाषा र तामाङ भाषा’मा पाठ्यक्रम तयारी कार्यदल गठन भएको जानकारी गराएका छन् ।


सय दिनको अवधीमा नगरवासीलाई निःशुल्क स्वास्थ्य, शिक्षाको व्यवस्था गरिएको उनले बताएका छन् । नगरप्रमुख रमेश नापितले आफूले निर्वाचनका बेला गरेको प्रतिवद्धता अनुसार निःशुल्क स्वास्थ्य र शिक्षाको कार्यक्रम कार्यान्वयनमा लगिसकेको जानकारी दिए ।