काठमाडौं/१० असोज-काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन र नेशनल स्कुल अफ साइन्सेज (निस्ट स्कूल) बिचको समन्वयमा शिक्षकको क्षमता विकासका निम्ति कन्टिन्युअस टिचरर्स प्रोफेस्नल डेभलपमेन्ट कार्यक्रम अन्तर्गत दोस्रो चरणको विषयगत तालिम कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम काठमाडौँ विश्वविद्यालयका सिपिइपी कार्यक्रम संयोजक डा. पार्वती ढुङ्गानाको संयोजनमा सञ्चालन भएको थियो ।
निस्ट स्कुलको सेमिनार हलमा असोज ९ गते सञ्चालित सो कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका प्रमुख प्रशिक्षकहरू दिपेश श्रेष्ठ, डा. रोशनी राजवंशी र पूर्ण श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका तर्फबाट रबिना महर्जनको पनि उपस्थिति थियो । नेशनल स्कुल अफ साइन्सेजको तर्फबाट शैक्षिक कार्यक्रम संयोजकहरू चन्दा सुवेदी, अमृत शर्मा गौतम र विज्ञान संकायका विभागीय प्रमुखहरू सुनिल चापागाई, राजिव चन्द्र वेलवासे र पुस्कल खनालले नमूना शिक्षण कार्य सञ्चालन गरेका थिए भने कार्यक्रममा निस्ट स्कूलमा कार्यरत विज्ञान विषयका शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो ।
तालिममा प्रभावकारी शिक्षण सिकाइ र विद्यार्थीहरूमा सक्षमताको विकास गराउन कार्य अनुसन्धानमा केन्द्रित विधिको प्रयोग गरी मूल्याकंनका विभिन्न विधिहरूको बारेमा छलफल गरिएको थियो । तालिमलाई मूलत भौतिक विज्ञान, रसायन विज्ञान र जीव विज्ञानका विभिन्न विषयवस्तुसँग जोडेर प्रगतिशील शिक्षण सिकाइ तथा प्रामाणिक मूल्याङ्कनका बारेमा प्रयोगात्मक छलफल गरिएको थियो । शिक्षण कार्यमा देखापर्ने समस्याहरूका बारेमा छलफल गर्दै विषय विशिष्टीकृत कक्षालाई निकै फलदायी बनाउनका लागि स्टिम विधिको प्रयोगमा जोड दिनुपर्ने बताइएको थियो ।
विद्यालयमा गरिने यस किसिमका तालिम कार्यक्रमहरूबाट शिक्षकहरूको क्षमता अभिवृद्धि हुनुका साथैकक्षा कोठामा हुने शिक्षण सिकाइ क्रियाकलापलाई दीगो र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । साथै यसबाट शिक्षण कार्य बढी प्रभावकारी भइ विद्यार्थी केन्द्रित सिकाइ हुने, सैद्धान्तिक ज्ञानलाई दीगो बनाउने र विद्यार्थीहरूलाई सिकाइप्रति अभिरूचि जगाउन पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने देखिएको छ ।



