कास्की/२ साउन – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ११ वटा विश्वविद्यालयलाई नियमन गर्न एकीकृत छाता ऐनको तयारी भइरहेको बताएका छन् । पोखरा विश्वविद्यालयको रजत जयन्ती समारोह एवं स्थापना दिवसका अवसरमा आइतबार पोखरामा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
त्यसैगरी विश्वविद्यालयहरुमा गरिने तालाबन्दी सधैँका लागि अन्त्य गर्नुपर्ने बताएका छन् । उनले विश्वविद्यालयमा विभिन्न माग राखेर गरिने तालाबन्दीबाट शैक्षिक विकासमा अवरोध आउने भएकाले सोको अन्त्य गर्नुको गर्नुपर्ने बताए ।
उनले भने, विश्वविद्यालयमा आफ्ना माग राख्दै तालाबन्दी गर्ने प्रचलन छ, यसबाट विद्यार्थी एवं विश्वविद्यालयको उन्नयन र विकासमा असर पर्छ, त्यसलाई वार्तामार्फत समाधान खोज्नुपर्दछ ।
उच्च शिक्षाको स्तरबाट नै मुलुकको राजनीतिक र आर्थिक अवस्थाको पहिचान हुने भएकाले विश्वविद्यालय सुधारका लागि नेतृत्वकर्ताले संकल्प गर्नुपर्नेमा उनले जोड दिए ।
उच्च शिक्षाका नाममा विदेश गएका विद्यार्थीमध्ये ९१ प्रतिशत विद्यार्थी रोजगारीका लागि त्यहाँ पुगेको उल्लेख गर्दै मन्त्री पौडेलले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सके विदेश जाने प्रवृत्तिलाई कम गर्न सकिने औँल्याए । उनले प्रादेशिक राष्ट्रिय योजना आयोगसँग समन्वय र सहकार्य गर्दै गण्डकी प्रदेशको विकासमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गरी दक्ष जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उनले शिक्षक तथा प्राध्यापकहरुले दार्शनिक, सैद्धान्तिक तथा राजनीतिक विचारधाराहरुलाई विश्वविद्यालय तथा उच्च शिक्षाको नीतिगत, संरचनागत र गुणस्तर सुधारका लागि सिर्जनात्मक बहसमा ल्याउनुपर्ने विद्यामान अवस्था रहेको बताए ।



