रुपन्देही/२८ असार-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गर्ने शिक्षक उपर आरोप–पत्र दायर गरेको छ । रुपन्देहीका श्री पिपरहवा माध्यमिक विद्यालयका तत्कालीन अस्थायी शिक्षक अमरनाथ मिश्र उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप–पत्र दायर गरेको हो ।
मिश्रले उक्त विद्यालयमा माध्यमिक तह अस्थायी राहत कोटाको गणित विषय अध्यापनको लागि पेश गरेको माध्यमिक तह अध्यापन अनुमतिपत्र नक्कली भएको आयोगले पुष्टी गरेको छ ।
साथै अस्थायी शिक्षक अमरनाथ मिश्रले उक्त विद्यालयमा माध्यमिक तहको राहत दरवन्दीमा अस्थायी शिक्षकको रुपमा मिति २०६६ साल बैशाख २० गतेदेखि २०७१ साल माघ ३ गतेसम्म अध्यापन गर्दा झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी माध्यमिक तहको राहत शिक्षकमा नियुक्ति लिई लाभ लिएको देखिएको जनाएको छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर भएकोले मिश्रउपर सोही कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारी जानकारी दिएका छन् ।



