शिक्षा विकास तथा समन्वय एकाइ अर्घाखाँचीमा शिक्षकको धर्ना

रविन घिमिरे,अर्घाखाँची
अर्घाखाँची/२५ असार-अर्घाखाँचीको सन्धिखर्कस्थित शिक्षा विकास तथा समन्वय एकाइमा नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले धर्ना दिएका छन् ।


नेपाल शिक्षक महासंघको चौथो चरणको आन्दोलनको जिल्लास्तरीय कार्यक्रमअन्तर्गत आफ्ना माग पूरा गर्न दबाब स्वरूप महासंघमा आवद्ध शिक्षकको उपस्थितिमा आज बिहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा धर्ना दिई आफ्ना माग, मुद्दा र आन्दोलनका बारेमा जानकारी गराइएको हो ।


कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष युवराज भुसाल, केन्द्रीय उपाध्यक्ष मान ब.पाण्डे , केन्द्रीय सदस्य सुवाष बन्जाडे, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादवप्रसाद घिमिरे,नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश सदस्य दिनामणि बेल्बासे,अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कृष्ण प्र. बन्जाडे,अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष लक्ष्मण ओलीलगायत सयौं शिक्षकको सहभागिता रहेको थियो ।


शिक्षक तथा कर्मचारी, विद्यार्थी र अभिभावकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउनुपर्ने, निजामती सरह सेवा सुविधा उपलब्ध गराउनुपर्ने, संघीय सरकारको बजेट अनुसार बालबिकास शिक्षक, विद्यालय कर्मचारी र सहायक कर्मचारीको पारिश्रमिक व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै महासंघले चरणबद्ध कार्यक्रम गर्दै आएका छन् ।


यसअघि पालिकास्तरको कार्यक्रमअन्तर्गत जिल्लाभित्रका महासंघमा आवद्ध शिक्षकले अर्घाखाँचीका ६ वटै स्थानीय तहमा धर्ना दिइसकेका छन् । साथै चरणबद्ध कार्यक्रमको पहिलो दिन असार १५ गते श्रद्धाञ्जली सभा गरी सरकारले शिक्षक तथा कर्मचारीलाई कोभिड खोप नदिएको विषयको आलोचना गर्दै शिक्षक कर्मचारीको उपस्थितिमा दिउँसो २ बजे ५ ओटा मैनबत्ती बालेर कोभिड १९ का कारण ज्यान गुमाएका शिक्षकको स्मरण गरिएको थियो ।


चौथो चरणअन्तर्गत महासंघले १० वटा कार्यक्रम तय गरेको छ । पाँचौं चरणमा देशभरका सबै विद्यालय बन्द गरी शिक्षक तथा कर्मचारीको उपस्थितिमा काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिने महासंघले जनाएको छ ।