वर्षकै छोटो दिन आज

काठमाण्डौं/ ६ पुस– यस वर्षको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात डिसेम्बर २२ अर्थात् आज परेको छ ।
भूगोलको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन भए पनि दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने भएको कारण उत्तरी गोलार्धमा बस्ने मानिसहरूका लागि सबैभन्दा छोटो र दक्षिणी गोलार्धमा बस्ने मानिसहरूका लागि सबैभन्दा लामो दिन आज हो । आज बिहान ६ बजेर ५१ मिनेटमा सूर्य उदय भयो भने बेलुकी ५ बजेर १४ मिनेटमा सूर्य अस्ताउनेछ ।
हरेक वर्ष जाडोमा हुने सोल्सटाईस (सक्रांन्ती) उत्तरी खण्ड सूर्यबाट –२३.४ डिग्रीले टाढा ढल्किँदा हुने गर्छ । जसका कारण सूर्यको किरण अन्य समय भन्दा थोरै आउँछ र रात धेरै हुन्छ । हरेक वर्ष हुने यो सोल्सटाईस डिसेम्बरको २१ वा २२ मा पर्न जाने खगोल वैज्ञानिकहरु बताउँछन् । तर, अहिलेको आधुनिक पात्रोमा रहने ३६५ दिन र हरेक चार वर्षमा १ दिन थप हुने कारणले यो डिसेम्बर २०,२१,२२ वा २३ मा पनि पर्न सक्छ । डिसेम्बर २० र २३ मा हुने सोल्सटाईस भने निकै कम हुन्छ । डिसेम्बर २३ को सोल्सटाईस १९०३ मा भएको थियो र यो अब २३०३ मा मात्र हुने छ ।
वर्षको सबैभन्दा छोटो समयले आउंदै गरेको क्रिसमसलाई अझ थप रौनक थपिदिने गर्छ । यसबाट मानिस क्रिसमस नजिक आएको पनि सम्झिन्छन् । आजको दिन यो वर्षकै सबै भन्दा छोटो भए पनि भोलि देखि भने दिनहरू क्रमशः बढ्दै जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *