काठमाडौं/६ पुस– समृद्ध एड मिडिया नेटवर्क प्रालिले प्रकाशित गर्दै आएको स्कुल खबर मासिक पत्रिकाले अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विद्यार्थीहरुको बौद्धिक क्षमता अभिवृद्धिका लागि पत्रिकाले यहि पुस ८ गते हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक दिपेश कंडेलले बताए ।
प्रतियोगितामा प्रथम हुने समूहलाई ३ हजार नगद पुरस्कार र ६ महिना निःशुल्क स्कुल खबर पत्रिका प्रदान गरिनेछ भने दोस्रो हुने समूहलाई २ हजार नगद र ४ महिनाको लागि निःशुल्क स्कुल खबर पत्रिका प्रदान गरिनेछ । त्यसैगरी, तेस्रो हुने समूहलाई १ हजार नगद पुरस्कार सहित ३ महिना निःशुल्क स्कुल खबर पत्रिका प्रदान गरिने कंडेले जानकारी दिए । प्रतियोगितामा सहभागी भएका सबै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुका साथै उत्कृष्ट हुने तीन समूहलाई अन्य गिफ्ट ह्यापरको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगितामा एउटा विद्यालयबाट ३ जना विद्यार्थीले सहभागीता जनाएका छन् भने प्रतियोगिता बुद्ध नगरमा रहेको केएमसी स्कुलमा आयोजना हुँदैछ ।
विद्यालय र शिक्षा सम्बन्धि विषयमा केन्द्रित भई विगत ६ वर्षदेखि प्रकाशन हुँदै आएको स्कुल खबर मासिक पत्रिकाले विद्यालय र विद्यार्थीलाई समेटेर विभिन्न कार्यक्रम आयोजना गर्दै आएको मार्केटिङ संयोजक माधव पाण्डेको भनाई छ । उनले यसपटक विद्यार्थीहरुमा भएको ज्ञानको परीक्षण गर्नका लागि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको बताए । हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरुलाई थाहा नभएका विषयमा थाहा पाउन सहयोग गर्छ भने प्रतियोगिताका लागि तयारी गर्दा विभिन्न विषयको अध्ययन गर्ने बताउँदै उनले भने,“यसले उनीहरुको ज्ञानको दायरालाई थप फराकिलो बनाउन सहयोग गर्छ ।”
विगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि विद्यार्थी र विद्यालयलाई समेटेर यस्तै खालका विभिन्न कार्यक्रम गर्ने योजना रहेको उनले बताए । चेरब एजुकेशनको प्रायोजन र केएमसी स्कुलको सहकार्यमा प्रतियोगिताको आयोजना हुन लागेको छ ।