राज्यले नियमन नगर्दा समाजमा स्थापित हुन नसकेको शैक्षिक परामर्श व्यवसाय

काठमाडौं/२ पौष –पछिल्लो समय हेर्ने हो भने नेपालमा विदेश गएर अध्ययन गर्न चाहाने विद्यार्थीको संख्या बढ्दै गईरहेको छ । शिक्षा मन्त्रालयको हालको तथ्यांकलाई हेर्दा दैनिक १ सय ५० भन्दा बढी संख्यामा विद्यार्थीहरु अध्ययनका लागि विदेश गएको पाइन्छ भने ७६ वटा मुलुक जानका लागि विद्यार्थीहरुले स्वीकृति लिने गरेका छन् । विद्यार्थीहरुलाई परामर्श दिनका लागि ४ हजार ४ सय कन्सल्टेन्सी सञ्चालनमा छन् भने १ हजार ४ सय ७३ कन्सल्टेन्सीले शिक्षा मन्त्रालयबाट स्वीकृत लिएका छन् ।
आफुले अध्यायन गर्न चाहेको विषय नेपालमा पढाई नहुने र कतिपय प्राविधिक शिक्षा नेपालमा नभएका कारण राम्रो भविष्यका लागि विदेश अध्ययनमा जाने विद्यार्थी र कलेजबीच सम्पर्क गराई विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको कन्सल्टेन्सी व्यवसाय आफैमा भने स्थापित हुन सकेको छैन । राज्य र समाजले कन्सल्टेन्सी व्यवसायको महत्व नवुझकै कारण यो व्यवसाय समाजमा राम्रो संग स्थापित हुन सकेको छैन । विद्यार्थीलाई विदेशमा उज्वल भविष्य निर्माणको बाटो देखाउँदै शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आएको भएपनि कन्सल्टेन्सी व्यवसायलाई धेरैले राम्रो व्यवसायको रुपमा लिएको पाईदैन ।
शैक्षिक व्यवसाय के हो भनेर बुझाउन नसक्दा कन्सल्टेन्सीलाई सम्मानित पेशाका रुपमा नहेरिएको इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेको भनाई छ । सुरुमा अव्यवस्थित रुपमा सञ्चालन भएपनि अहिले नीति, नियममा बसेर व्यवस्थित रुपमा सञ्चालन भईरहेको बताउँदै उनी भन्छन्,“सरकारले निश्चित नीति नियम बनाएर व्यवसायलाई बाँधे पनि नियमन र अनुगामन हुन नसक्दा व्यवसायलाई हेर्ने नजरमा फरक परेको हो” । कन्सल्टेन्सी व्यवसायलाई सम्मानित व्यवसाय बनाउनका लागि शैक्षिक व्यवसाय के हो भनेर सरकार र अभिभावकलाई बुझाउन आवश्यक रहेको उनले बताए ।
उनका अनुसार कन्सल्टेन्सीहरु संगठित भएर नीति नियम बनाउन पहल गर्ने, शैक्षिक मेला गर्ने, अन्तरक्रियाका कार्यक्रम गर्ने जस्ता कामहरु गरिरहेका छौं । तर पनि व्यवसायका विषयमा बुझाउन नसकिएको उनको भनाइ छ । राम्रो गर्ने र नराम्रो गर्ने कन्सल्टेन्सीलाई एकै नजरले हेरिदा पनि समस्या आएको उनले बताए । कन्सल्टेन्सी एउटा शैक्षिक परामर्श संस्था हो, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई कलेज, विषय, त्यसमा विद्यार्थीको भविष्य कस्तो छ भन्ने परामर्श दिन्छ भन्ने कुरा राम्रो सँग बुझाउन आवश्यक रहेको उनको तर्क छ ।
त्यस्तै, एक/दुई वटा कन्सल्टेन्सीहरुले नराम्रो गरेको छ भन्दैमा सबैलाई एउटैमा दाज्न नमिल्ने फेक्यानका अध्यक्ष युवराज कटुवालले बताए । शैक्षिक परामर्शका क्षेत्रमा राम्रा गर्ने कन्सल्टेन्सीहरु पनि रहेको बताउँदै उनले भने,“नराम्रो काम गर्नेलाई अनुगमन गरी दण्डित गर्नुपर्छ ।” तर राम्रो गर्नेलाई पनि उहि दर्जामा दाज्न नमिल्ने उनको भनाई छ । राज्यले विभिन्न कम्पनी ऐनमा सञ्चालनमा ल्याएका व्यवसायलाई अनुगमन गर्नुपर्ने उनले बताए । उनका अनुसार विदेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुलाई अध्ययनपछि नेपालमा फर्कन सक्ने र विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि आउन प्रेरित गर्ने नीति राज्यले बनाउन आवश्यक छ । यसै गरी कन्सल्टेन्सीका छाता संगठनहरुले आफ्ना सदस्या कन्सल्टेन्सीलाई अनुशासित र गुणस्तरिय हुन प्रेरित गर्नु पर्ने उनले खबर एजुकेशनलाई जानकारी दिए ।

यस्तै, नेकाका अध्यक्ष सन्तोष प्याकुँरेलले एकै रातमा पैसा कमाउन व्यवसायका रुपमा यसलाई बुझिदा यसले सम्मान पाउन नसकेको बताए । विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि जाँदा सम्बन्धित कलेज, देश, विषय र भविष्यका विषयमा परामर्श दिने संस्थाका रुपमा स्थापित भएपनि समाजलाई बुझाउन नसक्दा कन्सल्टेन्सीका विषयमा नकारात्मक धारण बनेको उनको भनाई छ । समाज र कन्सल्टेन्सीबीच संवाद हुन नसक्दा गलत बुझाई भएको बताउँदै उनले भने,“कन्सल्टेन्सीहरुलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ भने नराम्रो काम गर्नेलाई जेलमा कोच्नुपर्छ ।” बजारमा राम्रो गर्ने र नराम्रो गर्ने दुवै थरीका कन्सल्टेन्सीहरु सञ्चालनमा रहेका छन् । त्यसैले सरकारले अनुगमन गर्न आवश्यक रहेको उनले औंल्याए ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने,“कन्सल्टेन्सीले विद्यार्थीहरुलाई सहि परामर्श दिनुपर्छ । कन्सल्टेन्सीले विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने काम गर्नु पर्ने बताउँदै उनी भन्छन्,“ परामर्श दिने संस्थाका रुपमा स्थापना भई म्यानपावरको काम गरेपछि नकारात्मक दृष्टिबाट हेरिएको हो ।” नीति, नियम र कानुनको दायरामा बसी राम्रोसँग आफ्नो कर्तव्य निवार्ह गरेमा सम्मानित हुन सक्ने उनको भनाई छ । शैक्षिक परामर्श दिनका लागि स्थापित भएपनि पछिल्लो समयमा पैसा कमाउने पेशाका रुपमा शैक्षिक परामर्श व्यवसायलाई हेरिदा विद्यार्थीहरु मारमा पर्ने गरेका छन् । गलत परामर्शका कारण विद्यार्थीहरु विदेशमा विचल्लीमा पर्ने गरेका छन् । जसका कारणले हाम्रो समाजले शैक्षिक परामर्श व्यवसायलाई राम्रो मानेको देखिदैन ।
नेपाली विद्यार्थीलाई अध्ययनका लागि विदेश मात्र नपठाई नेपाललाई नै शैक्षिक हबका रुपमा विकास गर्न पनि आवश्यक रहेको उनले बताए । उनका अनुसार कन्सल्टेन्सी शैक्षिक परामर्श संस्था भएकाले विद्यार्थीलाई सहि परामर्श दिन आवश्यक छ । केही कन्सल्टेन्सीहरु नराम्रो छ भन्दैमा सबैलाई एउटै नजरले हेर्न नमिल्ने बताउँदै उनी भन्छन्,“कन्सल्टेन्सीहरुले राम्रो परामर्श दिएकै कारण धेरै विद्यार्थी विदेश अध्ययनका लागि गएका छन् भने सुन्दर भविष्य समेत निर्माण गरेको पाइन्छ ।”
यसोत विद्यार्थीहरुले सहि परामर्श नपाउँदा पनि विदेशमा उनीहरुले विभिन्न खालका समस्या भोग्नुपरेको छ । नेपाल सरकारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएपछि संस्थाले के कस्तो काम गर्दैछ, नीति नियम अनुसार सञ्चालन छ कि छैन भन्ने कुरा नियमन गर्न आवश्यक छ ।
यसैगरी कन्सल्टेन्सीहरुका छाता संगठनहरु जस्तै इक्यान, फेक्यान, नेका, आइरेन लगायतका संगठनहरुले पनि शैक्षिक मेला, अन्तरक्रिया लगायतका कार्यक्रमहरु आयोजना मात्र गरेर हुँदैन आफ्नो सदस्यता दिएका कन्सल्टेन्सीहरु कसरी सञ्चालन भइरहेका छन्, के गर्दैछन्, कुन कुन देशका लागि काम गरिरहेका छन्, नियम अनुसार छन् वा छैनन् भन्ने विषयमा अनुगमन गरी आवश्यक कदम चाल्नुपर्छ । नत्र भने भोलिका दिनमा विदेश अध्ययनका लागि जाने विद्यार्थीहरुको भविष्य अन्योलनमा नपर्ला भन्न सकिदैंन ।
त्यसैले सरकारले शैक्षिक परामर्शका रुपमा स्थापना भएका कन्सल्टेन्सीहरुको नियमन र अनुगमन गरी राम्रो गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्न आवश्यक छ । विदेशमा अध्ययन गरी सुनौलो भविष्य निर्माण गर्ने सपना देखेका विद्यार्थीको सपना साकार गर्नका लागि र कन्सल्टेन्सीलाई नियन्त्रण गर्नका लागि पनि अनुगमन आवश्यक छ ।