सामुदायिक विद्यालयमा बस सेवा


दोलखा/ १७ माघ – दोलखाको सामुदायिक विद्यालयमा पहिलो पटक स्कुल बस सञ्चालनमा आएको छ । वैत्यश्वर गाउँपालिका ८ स्थित क्षात्रवती माविले बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको २५ लाख रुपियाँ सहयोगमा स्कुल बस ल्याएसँगै सञ्चालनमा ल्याएको हो ।

बागमती प्रदेश सभाका सदस्य विशाल खड्काले बिहीबार स्कुल बसको शुभारम्ब गर्नु भएको विद्यालयका प्रधानध्यापक पदम जिरेलले जानकारी दिनुभयो । उहाँले स्कुल बस सञ्चालनमा आएसँगै करीब दुई घण्टा टाढा हिँड्नुपर्ने बाध्यता हटेको बताउनुभयो ।

बस सञ्चालनका लागि प्रधानध्यापक संयोजकत्वमा शिक्षक,चालक र सहचालक रहने गरी बस सञ्चालन समिति गठन गरीएको छ । वैत्यश्वर गाउँपालिका ८ का वडाध्यक्ष रमेशकुमार अधिकारीले हाल क्षत्रपामा मार्बुदेखि उखुबारीसम्मको १४ किलोमिटर सडकमा बस सञ्चालन गर्न सकिने बताउनु भयो । सडक स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारबाट चालु आवमा बजेट परेको उहाँले बताउनु भयो । २०२३ सालमा स्थापना भएको क्षत्रवती माविमा हाल ५३३ विद्यार्थी अध्ययनरत छन् । गोरखापत्रमा खबर छ ।