विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई १८ वर्ष ६ महिना कैद

विराटनगर/१५ माघ– धनकुटा–६ स्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत बालिकामाथि यौन शोषण गर्ने शिक्षकलाई जिल्ला अदालत धनकुटाले १८ वर्ष ६ महिना कैद सजायको फैसला सुनाईएको छ ।


धनकुटा नगरपालिकाकी १४ वर्षीया दलित बालिकामाथि पटक–पटक भएको यौन शोषणको घटनामा धनकुटा–६ का शिक्षक मदन अधिकारीसहित स्थानीय गौरी अत्री, भक्तबहादुर मगर र देवेन्द्र श्रेष्ठलाई अदालतले दोषी ठहर गर्दै सजायको फैसला सुनाईएको हो ।
जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले शिक्षक अधिकारीलाई १८ वर्ष र ६ महिना कैद तथा अत्री, मगर र श्रेष्ठलाई १८ वर्ष कैद सजाय सुनाईंदै चारै जनालाई जनही १ लाख ५० हजार क्षतिपूर्तिसहित २५ हजार जरिवाना तोकिएको छ ।
बलात्कृत शिक्षक आफै बालिकालाई पढाउने समेत भएकाले अधिकारीलाई संरक्षकका हिसावले अन्य व्यक्तिको तुलनामा थप ६ महिना कैद सजाय तोकिएको जिल्ला अदालतका श्रेस्तेदार राजन बास्तोलाले बताए ।
उनका अनुसार संरक्षकबाटै बालिकाको यौन शोषण जस्ता अपराध क्रियाकलाप भएकाले शिक्षक अधिकारीलाई अन्यको भन्दा थप ६ महिना सजाय बढी तोकिएको हो ।


बालिकामाथि लामो समयदेखि पटक–पटक यौन शोषण हुँदै आएको घटना गत जेठ पहिलो साता सार्वजनिक भएको थियो । सोही विद्यालयका शिक्षक अधिकारीसहित स्थानीय चार जनाबाट पटक–पटक यौन शोषणको सिकार भएकी बालिकाको पेटमा गर्भ रहेर पेट बढ्दै गएपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य खुलेको थियो । बालिकाले आफूलाई विभिन्न प्रलोभन देखाई ललाईफकाई गरी ६ महिनायता विभिन्न ठाउँमा लगेर चारै जनाले फरक–फरक समयमा पटक–पटक शारीरिक सम्पर्क राखेको बयान दिएकी थिइन् ।
त्यसपछि पीडित बालिकाका परिवारले जिल्ला अदालतमा किटानी जाहेरी दिएको थियो । सोही आधारमा प्रहरीले शिक्षक सहित चारै जनालाई पक्राउ गरेको थियो ।
यसैबीच, यौन शोषणमा परेकी बालिकाले तीन महिना पहिले नै बच्चा समेत जन्माएकी छिन् । उनी अहिले महिला पुनस्र्थापना सेवा केन्द्रको संरक्षणमा छिन् ।