– सिङ्ग लामा
“शिक्षाले संस्कार दिनुपर्छ, त्यसैले संस्कारसहितको शिक्षा चाहिन्छ” भन्ने वहसको सुरुवात भएको पनि धेरै भैसकेको छ तर जस्तो संस्कार खोजिएको हो, त्यो हराउँदै गएको स्थिती बुझ्न भने गाह्रो छैन, जगजाहेर छ । आखिर किन यस्तो हुँदैछ त? कहाँ नेर बाटो मोडीयो? एक छिन घोत्लिऔं ।

आम स्वीकृतिको अर्थमा संस्कार सहितको शिक्षा भन्नाले विद्यार्थीहरु शिक्षित हुनुको साथसाथै संस्कारयुक्त हुनु अपरिहार्य छ भन्ने हो । शिक्षक–शिक्षिका, विद्यालय, अभिभावक, शिक्षाविद् र सरकार समेत शिक्षा क्षेत्रका सबै सरोकारवालाहरु यसमा सहमत मात्र हैन, यसका पक्षपाती छन्।सरसर्ती हेर्दा यो सत्य पनि देखिन्छ र यसका लागि सबैखालका प्रयासहरु पनि हुँदै आएका छन् । नेपालको नयाँ पाठ््यक्रमले समेत यसलाई आत्मसात गरेको देखिन्छ ।
तर नयाँ पुस्ताकाविद्यार्थीहरुको एउटा ठूलो जमात भने विद्रोही देखिन्छन् र यसको वहिष्कार गर्न उद्दत देखिन्छन् । अचम्म र चिन्ताको विषय चाहिँ वर्षेनी यस्ता वहिष्कारवादीहरुको संख्यामा बढोत्तरी देखिन्छ जसले आफूहरुलाई विद्यालय, शिक्षा, नियम र संस्कारको विपक्षमा उभ्याउने गर्दछन् ।
कसले चाहेको छ संस्कारयुक्त शिक्षा ?
संस्कारयुक्त शिक्षा चाहने सरोकारवालाहरुको जनसांख्यिक विश्लेषण गर्ने हो भने उमेर समुहका हिसाबले प्रौढहरुको वाहुल्यता देखिन्छ। त्यस्तै, मनोवैज्ञानिक दृष्टिले हेर्दा पढाउने, हुर्काउने तथा नियामक निकायमा रहने व्यक्तिहरु यसका पक्षपाती देखिन्छन् । स्वाभाविक हिसाबले प्रौढ जनसंख्या स्थापित सामाजिक संस्कार, मूल्य तथा मान्यताका पक्षपाती हुन्छन् भने युवा समूह विद्रोही र उपद्रवी । मानव सभ्यताको सुरुवाती दिनदेखि नै यस्तै अवस्था रहेको अनुमान गर्न सकिन्छ किनकी सुप्रसिद्ध दार्शनिक सुकरातले बच्चाहरुको विषयमा भनेका थिए, “बच्चाहरु अचेल विलासितामा डुब्ने, खराब आचरण देखाउने, प्रशासनलाई घृणा गर्ने, ठूलाको मानमर्दन गर्ने र व्यायाम नगरी गफाडी हुने गर्दछन् । उनीहरु नोकर नभई घरका तानाशाह हुने, अभिभावकसँग मतभेद राख्ने, घिचिघिचि खाने, खुट्टा फैलाएर बस्ने र शिक्षकहरुमाथि नै तानाशाही हुने गर्दछन् ।”आज करीब साँढे दुईहजार वर्ष पछाडी यस भनाईलाई केलाउने हो भने यसबाट बच्चाहरु सँधै बच्चै जस्तो रहँदै आएको र ठूलाहरुको दृष्टिकोण पनि उस्तै रहँदै आएको प्रष्ट हुन्छ ।
सामान्यतया पौढताको विकाससँगैसंस्कारप्रति आकर्षण बढ्दै जाने गर्दछ । कुनैबेलाका नामुद उपद्रवी विद्यार्थीहरु पनि उमेर अलिक बढ्ने बित्तिकै शिक्षक–अभिभावककै संस्कारी भाषा बोल्न थाल्छन् र त्यही शैलीमा आफना भाई–बहिनी र छोरा–छोरीलाई अर्ति उपदेश दिन थाल्छन् ।
के हो त संस्कार?
संस्कार वर्तमानमा सर्वस्वीकार्य व्यवहार हो । यसको स्रोत चाहीँ विगत हो । यसको सुरुवात मान्यता अनुसार धर्म, देवीदेवता र गुरुहरुले गरेको हुन्छ र तात्कालिन समय त्यसैबाट निर्दिष्ट हुन्छ । समयक्रमसँगै यी कुराहरु एक सम्पदाको रुपमा पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आउँछ । हरेक समाजमा जन्मदेखि मृत्युसम्म संस्कार निरन्तर रुपमा अभ्यास हुने गर्दछ । ध्यानले हेर्ने हो भने कुनै प्रबुद्ध गुरुहरुबाट संस्कारहरुको जन्म हुने देखिन्छ । तसर्थ, आजको प्रौढ पुस्ताले गर्व गर्ने र हस्तान्तरण गर्न चाहने संस्कार, मूल्य एवं मान्यता पौराणिक हो । विचारशक्ती, विश्लेषण क्षमता र संस्कारहरुले नै मान्छे अरु प्राणीहरु भन्दा भिन्न र श्रेष्ठ कहलिएको पनि हो ।
संस्कार र शिक्षा प्रति आकर्षण तथा विकर्षणको प्रश्नः
अमेरिकी मनोवैज्ञानिक जेरोम ब्रुनर भन्छन्, “शिक्षाले केवल संस्कारको हस्तान्तरण मात्र गर्ने नभई संसारको विषयमा बैकल्पिक दृष्टि र त्यसको अन्वेषणको बलियो ईच्छा दिनुपर्छ ।” यस अर्थमा हाम्रो शिक्षाले के गर्दैछ भन्ने कुराको विश्लेषण एकदमै जरुरी हुन्छ । संस्कारलाई सर्वस्वीकार्य भावमा सम्पदाको रुपमा हस्तान्तरण गर्न खोजिनु आफैंमा समस्या हुने देखिन्छ किनकी असली शिक्षाले यसमाथि प्रश्न गर्ने र विकल्प सोच्ने स्वतन्त्रता सुनिश्चित गर्न सक्नुपर्छ ।
सायदत्यसैले होला, अमेरिकी सन्त टेरेन्स मैककेन्नाले संस्कारलाई बुद्धत्व, शिक्षा र शिष्टताको सबैभन्दा ठूलो बाधक भनेका छन् । हुनत बुद्धले पनि घरपरिवारको संस्कार छोडेर भगवानको स्थापित मान्यता माथिनै प्रश्न गर्दै स्वयंको बुद्धत्व हासिल गरेका थिए र उनीबाटै फेरी अद्वितीय सुसंस्कारहरुको सुरुवात हुन गएको थियो । उनी आफैं भन्थे, सबैचीज नाशवान छ, परिवर्तनशील छ । तर संस्कार? के यो अपरिवर्तनीय हुने हो? यसको अन्त र नयाँ सुरुवात छैन? के बुद्ध गलत थिए र हामी सही हौं? जसरी कुनै युगमा त्यसबेलाका प्रबुद्ध गुरुहरुबाट विभिन्न संस्कारको सुरुवात भयो, त्यसको अन्त वा नवीकरण हुनु पर्ने हो की हैन? नयाँ युगको लागि नयाँ संस्कार विकास हुनुपर्ने हो कि हैन?त्यो कसले गर्ने हो? राजनैतिक रुपमा सरकार र शिक्षा नीतिले की ज्ञानी गुरु र दार्शनिकहरुले? के अहिले ज्ञानीहरुको खडेरी परेकै हो त? पूर्खाको उधारो संस्कारमै रम्नु पर्ने की नयाँ संस्कारको विकास गर्नुपर्ने हो ? अनगिन्ती प्रश्नहरु सुशुप्त छन्, अनेकन प्रश्नहरु अनुत्तरित छन् । उत्तर खोजिएन भने शिक्षा सच्चिने छैन ।
कुनै युगका गुरु तथा दार्शनिकहरुबाट प्रतिपादित संस्कारले एक्काईसौं शताब्दीका युवा पुस्तालाई आकर्षित गर्न सकेन भने दोष कसको हो?वास्तविकता त संस्कारप्रति मात्र हैन, युवा पुस्ताको त शिक्षाप्रति नै चरम वितृष्णा देखिन्छ । जानी नजानी उनीहरु हामी किन पढ्ने र किन संस्कारी बन्ने भन्ने प्रश्न गर्दैछन् भने हामीले त्यसको उत्तर के दिंदैछौं? कसरी दिंदैछौं ? प्रश्न एकदमै पेचिलो छ ।
विद्यार्थीहरुले किन पढ्नुपर्ने? शिक्षक–अभिभावकको करले, डरले वा तत्काल अथवा भविष्यमा केही पाईने वा भईने लोभले? यदी उत्तर यी तीन मध्ये कुनै एक हो भने हाम्रो शिक्षाले एउटा कुरा गुमाएको छ, त्यो हो मूल्य । स्मरणीय छ, मूल्यहीन चीज कदापी बिक्दैन र त्यसलाई जबर्जस्ती भिडाउनुको पनि कुनै अर्थ छैन ।
संस्कार खोजेको की सम्मान?
जब संस्कारको खाँचोको विषयमा वयस्कहरुबीच कुरा हुन्छ, गहिरो रुपमा केलाउँदै जाँदा एउटै कुराको अपेक्षा देखिन्छ – बच्चा वा विद्यार्थीहरुबाट सम्मान । प्राय गुनासाहरु उनीहरुले भनेको मानेनन्, तथानाम बोल्ने भयो, ठूलाको अनादर ग¥्यो, शिष्टता देखाएनन्, नैतिकता हरायो, आदि हुने गर्दछ ।यी गुनासाहरु र सुकरातको भनाईमा करीब शतप्रतिशत एकरुपता छ । शताब्दियौं समय बितिसक्दा पनि बच्चाहरुलाई हेर्ने ठूलाहरुको दृष्टिकोण र बच्चाहरुको प्रवृत्तीमा कत्ति पनि परिवर्तन नहुनु साँच्चै चिन्ताको विषय हो ।उनीहरुको संस्कार र व्यवहार त हाम्रै विस्तार न हो ।

वास्तवमाठूलाले सानाबाट सम्मानको अपेक्षा राख्नु भनेको एकदमै तल्लो स्तरको भीख माग्नु जस्तै हो किनकी सम्मान मागेर हैन, आर्जन गरेर पाईने कुरा हो । समाजमा सम्मानयोग्य हरेकको सम्मान सुनिश्चित हुन जति जरुरी छ, सम्मानका लागि अयोग्यहरुको असम्मान हुन पनि त्यती नै जरुरी छ । असम्मान भनेको अपमान हैन, अन्ध सम्मान प्रकट नगर्नु हो र यही नै सही सामाजिक न्याय पनि हो किनकी बालसुलभ मस्तिष्कलाई यो फरक थाहा हुनु अत्यन्त आवश्यक छ । ठूलो हुनाको कारण हरेक ठूलालाई उनीहरु जस्तोसुकै सही वा खराब भएपनि उत्तिकै देवतुल्य सम्मान दिईनु पर्दछ भन्ने मान्यता प्रति नयाँ पुस्ताको असहमति हो भने त्यो असहमतिको चाहिँ सम्मान हुनु पर्छ ।
ठूलाले त आफ्नो सम्मान बच्चाहरुबाट जबरजस्ती गराएर हैन, राष्ट्रिय तथा सामाजिक जीवनमा कमाएर आदर्श बन्न सक्नु पर्दछ । आफ्नो विचार, कर्म र सिर्जनाबाट सम्मानित हुन कसैले छेक्दैन तर सम्मानको भोक आफैंमा अस्वस्थ मनोविज्ञान हो किनकी यो अहंकार र लोभकै विस्तार हो । अब्राहम मास्लोको तहगत आवश्यकताको सिद्धान्त अनुसार परम्परागत निर्वाहमूखी समाजबाट आधुनिकता र सम्पन्नता तर्फको यात्रासँगै नेपाली समाजमा भौतिक, सुरक्षा तथा माया–ममताको आवश्यकताको परिपूर्ति पछि सम्मान र पहिचानको आवश्यकताको उदय भएको अनुभव गर्न सकिन्छ । त्यसैले अचेल सम्मानको मूल्यमा पनि ठूलै गिरावट आएको देख्न सकिन्छ किनकीआज यो खरिद–बिक्रिको वस्तुमा रुपान्तरित हुँदैछ ।
वास्तवमासम्मानको पहिलो हकदार चाहिँ बच्चाहरु नै हुन् किनकी नयाँपुस्ताले परिवार समाजबाट आफूले जे पाउने हो, त्यही दिने हो । आज सबै खालका सुविधा र विलासिता पाएका बच्चाहरुले पनि अभिभावक तथा गुरुवर्गहरुबाट उचित सम्मान पाउन नसकेको सत्य भूल्नु हुँदैन ।
शिक्षामा संस्कार जोड्नेकी मूल्य?
संस्कारसहितको शिक्षाको नाममा समयलाई नचिन्ने हो र पूर्खाको जडौरी, कर्मकाण्डी व्यवहारलाई नै मात्र जसरी भएपनि नयाँ पुस्तामा लाद्ने हो भने विद्रोह स्वाभाविक र अवश्यम्भावी छ । यसरी त शिक्षा र संस्कार दुवैप्रति एकैचोटी वितृष्णा पैदा हुन्छ । तर नयाँ पुस्ताको विद्रोह त केवल एक कन्फ्युजन हो, पुकार मात्र हो, समाधान हैन ।त्यसैले जब हामी संस्कारको कुरा गछौं, त्यसको औचित्य र प्रयोगको विषयमा स्पष्ट हुनु जरुरी छ ।
हाम्रो शिक्षा मौलिक थियो र यसको मूल्य, मान्यता र संस्कार पनि पृथक, अतुलनीय तथा अमूल्य थियो । तर समयक्रमसँगै हाम्रो शिक्षामा पश्चिमी प्रभाव हावी भयो र हामीले शिक्षाको मूल मूल्य गुमायौं । हाम्रो शिक्षा सांसारिक थिएन, आन्तरिक थियो, मुक्ति र बुद्धत्व अन्तिम लक्ष्य थियो । त्यसैले गुरुको स्थान देवतुल्य थियो र गुरु पनि महाज्ञानी हुने गर्दथे । तर अहिले हाम्रो शिक्षा पूर्णतया सांसारिक भईसकेको छ । आजको शिक्षाले जीवन र जगतबाट मुक्ति हैन, जीवनयापन गर्ने जुक्ति मात्र दिने गर्छ । यो केवल केही सांसारिक तथ्य, जानकारी र पेशागत सीपहरुमा केन्द्रित रहन्छ । हाम्रो शिक्षा चाहिँ झन् पथभ्रमित छ किनकी यसले एकातिर मौलिकता गुमाएको छ भने अर्कोतिर आधुनिकता समेट्न पनि सकेको छैन । गुरु अब शिक्षक समेत हैन, सहजकर्ताको भूमिकामा स्खलित भएको छ । तैपनि हाम्रो “संस्कारी” मनोविज्ञानले व्रह्मा, विष्णु, द्रोणाचार्य, वशिष्ठ, सान्दिपनि, अलार कलाम, बुद्ध, मोहम्मद, जिसस, आदि जस्ता गुरुहरुप्रतिको उनका शिष्यहरुको उच्च सम्मान यस युगका विद्यार्थीहरुबाट अपेक्षा गर्दैछ भने गल्ति कहाँ भएको हो, खोज्न र सच्च्याउन जरुरी छ ।
यसका लागि तत्काल शिक्षाको मार्ग, दिशा र दर्शन स्पष्ट पार्नु पर्छ किनकी हाम्रो शिक्षाले आफ्नो मौलिकता र मूल्य गुमाइसकेको छ । विज्ञान, पेशा र व्यवसायमा आधारित आधुनिक शिक्षालाई पूर्णरुपमा आत्मसात गर्ने की मोक्ष र बुद्धत्वको आन्तरीक शिक्षामै फर्कने, वा एउटा नयाँ दर्शन विकास गर्ने, त्यसको किटान गरिनु जरुरी छ । हाम्रो शिक्षाले आधुनिक शिक्षाको रुपमा मूल्य सिर्जना गर्न पनि सकेन भने मौलिक मूल्य पनि गुमाएको अवस्था छ । त्यसैले नयाँ युगका हाम्रा विद्यार्थीहरुले शिक्षाको मूल्य देखेका छैनन् वा हामीले त्यसको सिर्जना गर्न सकेका छैनौ । उनीहरुले न पेशा व्यवसायमा, न मुक्तिमार्ग, कतैपनि यसको मूल्य देखेका छैनन् । मूल्यको सट्टा केवल मोल र भाउ मात्र छ, चाहे त्यो सार्वजनिक होस् वा संस्थागत । शिष्यहरुले घरखेत बेचेर अनि परिवार र गाउँ छोडेर ज्ञानको लागि गुरुको पछि लागेर सम्पूर्ण जीवन समर्पण गर्ने यस ज्ञानभूमिमा आज शिक्षामा मूल्य नभएर खाजा र भत्ताबाट आकर्षण थप्ने स्तरमा पुगेका छौं । बुद्ध, कृष्ण, महाविर, नानक, आदिले कतैबाट यो दुर्गति देखेका छन् भने उनका आँखा समेत रसाएका होलान् ।
त्यसैले शिक्षामा पुरानो संस्कारको हैन, नयाँ दर्शनको खाँचो छ । एक्काईसौं शताब्दीको विश्वव्यापीकरणको यस युगमा मूल्यहीन चीजको कुनै औचित्य छैन। शिक्षा पूनर्परिभाषित हुन जरुरी छ र मूल्य सिर्जना गर्नु जरुरी छ । बुद्धिज्ममा “पुतलीहरु डाक्ने हैन, बगैंचा सुन्दर र हराभरा बनाउ, तिनीहरु आफैं आउँछन्” भनेजस्तै शिक्षामा नयाँ मूल्य सिर्जना भयो भने विद्यार्थीहरु विद्रोही हैन, शिष्यको रुपमा रुपान्तिरित हुनेछन् र विश्वमा एउटा नयाँ मूल्यको साथसाथै नयाँ संस्कारको समेत सुरुवात हुनेछ । अनिमात्र घटित हुनेछ, संस्कारयुक्त शिक्षा । त्यसैले पहिले शिक्षामा मूल्य सिर्जना गरौं, संस्कार आफैं अंकुरित हुनेछ ।
(महाकालिस्थान, भक्तपुरस्थित गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलका प्रिन्सिपल, कान्तिपुर भ्याली कलेज र हिकास्टका एडजंक्ट फ्याकल्टी तथा क्वेष्ट नेपालका सचिव रहेका लामा नेपालमा मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित पिबिएल (एमआई पिबिएल) पद्दतीका प्रवर्तक समेत हुन् ।)



