एकै दिनमा नगर क्षेत्र भित्रका सबै विद्यालयमा व्यवस्थापन समिति चयन


स्याङजा /१० माघ -वालिङ नगरपालिकाले एकै दिनमा नगर क्षेत्र भित्र रहेका सम्पुर्ण विद्यालयमा व्यवस्थापन समिति चयन गरेको छ ।

नगरपालिका भित्र रहेका आधारभुत र मावि विद्यालय गरेर ७२ वटा विद्यालयमा एकै पटकमा चयन गरेको हो । साथै व्यवस्थापन समितिको कार्यकाल ३ वर्षको रहनेछ ।

राजनितिक हस्तक्षेप नहोस भनेर एकै पटकमा सबै विद्यालयमा व्यवस्थापन समिति चयन गरेको नगरपालिकाले जानकारी दिएको छ । साथै समितिको एकरुपता र स्वतन्त्र ढंगले चयन गर्नका लागि यो अभ्यास शुरु गरिएको हो । वालिङ नगरपालिकाले शुरु गरेको यो अभ्यास नेपालभरी मै पहिलो रहेको नगरपालिकाले जनाएको छ ।

त्यसै गरी विद्यालय व्यवस्थापन समिति ९ जनाको हुनेछ । जसमा अभिभावक भेलाले ४ जना चुन्ने छ । ति ४ जनाले बुद्धिजिवी, चन्दादाता, संस्थापक, शिक्षाप्रेमी मध्येबाट २ जना चुन्ने प्रावधान रहेको छ । बाँकी ३ जनामा वडा शिक्षा समिति, विद्यालय प्रधानाध्याप र शिक्षक नायक पदेन सदस्य रहने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिका भित्र १६ मावि, ८ निमावि र ४८ प्रावि सार्वजनिक विद्यालय रहेका छन् ।