काठमाण्डौं /९ माघ– काठमाण्डौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र रहेका २५ वटा सामुदायिक विद्यालयमा आविष्कार (स्टीम क्लब) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
विद्यार्थीमा विज्ञान तथा प्रविधिको सिकाइको विकास गर्ने, व्यक्तिगत अभिरुचिको विकास र प्रयोग गर्ने मञ्च उपलब्ध गराउने, आविष्कारमुलक सिकाइको प्रवद्र्धन गर्ने लगायतका उदेश्यले सो कार्यक्रमको सुरुवात गरेको हो ।
महानगरपालिकाले महानगरक्षेत्र भित्रका छनोटमा परेका २५ वटा विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धन र विकासका लागि पहिलो चरणको कार्यक्रम सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
महानगरपालिकाले छनोटमा परेका ती सबै विद्यालयलाई एक–एक लाख अनुदान दिएको छ । सम्झौतापत्रमा हस्ताक्षर तथा चेक हस्तान्तरण कार्यक्रमपछि सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नयाँ सोचका साथ ल्याएको उक्त कार्यक्रमलाई व्यवहारिक रुपमा लागू गर्न विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गरे ।
महानगरपालिकाले नयाँ सोचका साथ यो कार्यक्रम ल्याएको छ । सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेको भन्दै उनले राज्यको नीति अनुसार सर्वसुलभ र गुणस्तरीय शिक्षा दिई निजीको भन्दा राम्रा विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिए ।
उनले भने ‘गुणस्तरीय शिक्षा दिन नसक्ने अनि निजी विद्यालयलाई गाली गर्ने कुरा उचित होइन,’ निजीले लगानी गरेको हुन्छ । त्यहाँ व्यापारिक प्रतिफलको पनि अपेक्षा हुन्छ । तर, सामुदायिकले प्रतिफलको अपेक्षा गर्ने भनेको आफ्नो विद्यालयमा पढेका विद्यार्थीको भविष्य सुनिश्चित होस् भन्नेमा हो ।’
शाक्यले विद्यालय शिक्षा अहिले स्थानीय सरकारको मातहतमा रहेको भन्दै महानगरपालिका आवश्यक लगानी गर्न तयार रहेको पनि जिकिर गरे ।
काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले महानगरपालिकाले नयाँ कार्यक्रम ल्याएको भन्दै त्यसलाई सफल बनाउन सबै प्रधानध्यापकलाई आग्रह गरेका छन् । ‘हामीले पहिलो चरणमा २५ वटा विद्यालय छनोट गरेका छौँ । ती मध्ये पनि शिवपुरी माध्यामिक विद्यालयलाई हव विद्यालयका रुपमा छनोट गरेका छौँ’ बस्नेतले भन्नुभयो ।
उनका अनुसार कार्यक्रमको छनोटमा परेका विद्यालयहरुमा कक्षा–९ सम्मका १५ देखि २० जना सम्म विद्यार्थीको सहभागितामा आविष्कार क्लब गठन गरिने छ । यो कार्यक्रम सम्बन्धित विद्यालयसँग सम्झौता भएको मितिदेखि सञ्चालन भई २०७८ असार मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने छ ।
सहरी योजना आयोगका सचिवलाय प्रमुख डिल्लीराम बास्तोलाका अनुसार पहिलो चरणको छनोटमा शिवपुरी माध्यामिक विद्यालय, बाँसवासी माध्यामिक विद्यालय, धुम्रबराह माध्यामिक विद्यालय, टंगाल माध्यामिक विद्यालय, जनकल्याण माध्यामिक विद्यालय, मित्र आधारभूत विद्यालय, श्रम राष्ट्रिय माध्यामिक विद्यालय लगायत अरु विद्यालय रहेका छन् ।


