शिक्षामा स्थानीय पाठ्यक्रम फड्को की अड्को ?

सिङ्ग लामा

स्थानीय पाठ्यक्रमको सुरुवात सँगै अचेल विद्यालयहरुले परम्परागत सीप र प्रविधिको अभ्यास गराउन थालेको र त्यस्ता गतिविधि सामाजिक संजालमा शेयर भएपछि त्यसको सर्वत्र प्रशंसा हुने गरेको देखिन्छ, मानौं यही नै मात्र असली शिक्षा हो र यसैले क्रान्ति गर्छ जे हुन्छ, यसैबाट हुन्छ ।

स्पष्ट होऔं, यदि त्यही र त्यस्तै काम गरेर विकास र समृद्धि आउने भए नेपाल कहिल्यै अल्पविकसित र गरीब मुलुक हुने थिएन,किनकी हिजो त्यसको स्वर्ण युग थियो,प्रचुर मात्रामा गरिन्थ्यो । त्यसले कहाँ पुर्यायो, हामी त्यहिं छौं । यदि तत्काल शिक्षा सच्चिएन भने यो उल्टो दिशाको यात्रा मात्र हुनेछ, जसलाई बुझ्न करीब अर्को ३० वर्ष लाग्नेछ ।

कसरी सच्च्याउने त शिक्षा ?
परम्परागत सीप र प्रविधि स्रोत हुन, सर्वश्व हैन । यसको शिक्षण र अभ्यास जति महत्वको छ, त्यसको सयौं गुणा महत्वपूर्ण छ त्यसमा अनुसन्धान र नवप्रवर्तन । विज्ञान र इञ्जिनीयरिङको माध्यमबाट यान्त्रिकीकरण र स्वचालन गर्न सकियो भने मात्र असली क्रान्ति हुने हो । नत्र नयाँ पुस्तालाई पुरानो प्रविधि सिकाएर अल्मल्याउनु भनेको तिमीहरु पनि हामी भन्दा फरक हुन पाउँदैनौ भनेको मात्र हो, उनीहरुको संभावनाको नियोजन हो ।

आज नेपालमा बिक्ने ९०% भन्दा बढी गुन्द्रुक, जनै, आदि जस्ता वस्तुहरु चीनमा बन्छन, जुन उनीहरुको परम्परागत सीप र प्रविधि थिएन र त्यसको उत्पादन पनि हाम्रो पुरानो हैन, नवप्रवर्तित नयाँ प्रविधिबाटै हुने हो । आज हामी के गर्दैछौं ? सोली, दुना, टपरी, गुन्द्री, गुन्द्रुक, अण्डा, तरकारी, आदिको सकेसम्म पुरानो तरीका र प्रविधि खोजी खोजी सिकाउन उद्धत छौं तर समृद्धि चाहिँ चीन, जापान, यूरोप र अमेरिकाको जस्तो खोज्दैछौं ।

नसिकाउने भनेको हैन तर त्यसमा रीसर्च र नवप्रवर्तन जोड्ने की पछाडी मात्र फर्किने ? कति हिँड्ने काशी जान कुतिको बाटो ? औद्योगिक क्रान्तिलाई मात्र हेरे पुग्दैन ?

किन हुन्छ प्रशंसा ?
यस्तो शिक्षा चाहने र मुक्त कण्ठले प्रशंसा गर्ने भनेको बहुसंख्यक पुरानो पुस्ताले हो, जसलाई जसरी पनि आफ्नो जमानाको मूल्य तथा मान्यता लादेर जानुछ । लोपउन्मुख सबै कुरा प्यारो नै लाग्ने हो तर स्थानीय पाठ्यक्रम भने समस्या वा समाधान दुबैको जड हुन सक्छ ः नवप्रवर्तन सहित समाधान तर यथारूपमा समस्या !!!

डा.माहाविर पुनले सुरुवात गरेको राष्ट्रीय नवप्रवर्तन केन्द्रले नेपालको स्थानीय पाठ्यक्रमलाई समस्याको सट्टा समाधान बनाउन प्रशस्त मार्गदर्शन गर्नसक्छ । हरेक विद्यालय एउटा ल्याब बन्न सक्छ भने विद्यार्थीहरु जूनियर साइन्टिस्ट !!!

(महाकालिस्थान, भक्तपुरस्थित गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलका प्रिन्सिपल, कान्तिपुर भ्याली कलेज र हिकास्टका एडजंक्ट फ्याकल्टी तथा क्वेष्ट नेपालका सचिव रहेका लामा नेपालमा मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित पिबिएल (एमआई पिबिएल) पद्दतीका प्रवर्तक समेत हुन् ।)