एकै क्याम्पसका २९ विद्यार्थीमा कोरोना संक्रमण


लमजुङ /५ पुस – लमजुङ क्याम्पसमा अध्ययनरत २९ जना विद्यार्थीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिका ७ मा रहेको लमजुङ क्याम्पसमा चौथों र छैटौं सेमेस्टारमा अध्ययनरत विद्यार्थीहरुमा कोरोना पुष्टि भएको क्याम्पसले जनाएको छ । कोरोना परीक्षणका लागि बिहीबार स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरा लगिएकोमा शनिबार पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

क्याम्पसका प्रमुख डा। नारायण न्यौपानेका अनुसार शनिबार छात्रा १८ जना र छात्र ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्याम्पसमा चौथों र छैटौं सेमिस्टारको परीक्षा सञ्चालन भइरहकोमा विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको छ ।

होस्टलमा बस्दै आएका २ विद्यार्थीमा एक साताअघि कोरोना देखिएको थियो । अन्य विद्यार्थीको पनि कोरोना जाँच गार्द शनिबार २९ जनाको पोजेटिभ रिपोर्ट आएको क्याम्पसले जनकारी दिएको छ । छात्रलाई नमुना सामुदायिक अस्पतालको आइसोलेसनमा र छात्रालाई क्याम्पसकै आइसोलेसनमा राखिएको र कोरोना पुष्टि भएका विद्यार्थीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको क्याम्पसले जनाएको छ ।