काठमाडौँ /२३ मङ्सिर -शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सिकाइ सहजीकरण गर्न मंगलबार ‘इ क्लास नेपाल’ नामक मोबाइल एप्स सार्वजनिक गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एप्सको आज भर्चुअलरुपमा शुभारम्भ गर्दे कोभिड–१९ का कारण पठनपाठनमा प्रभावित भएका बालबालिकालाई सहज हुने बताउनुभयो । साथै सरकारले शैक्षिकसत्रलाई खेर जान नदिनका लागि विभिन्न शैक्षिक सामग्रीको विकास गरी वितरण गर्दै आएको जानकारी दिनुभयो ।
केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले सबै विद्यार्थीले सहज र सरल तरीकाले अनलाइन बाटै अध्ययन गर्न सकिने सामग्रीको विकास गरेको र टिभी कम्प्युटरमा पहुँच नभएका कक्षा १० सम्मका विद्यार्थीलाई सहज उपलब्ध हुने गरी एप्स निर्माण गरिएको बताउनुभयो ।
कक्षा १ देखि १० सम्मका अनिवार्य विषय, कक्षागत शिक्षक निर्देशिका र पाठ्यक्रम समावेश गरीएको एप्स शिक्षकका लागिसमेत उपयोगी हुने छ ।



