आज भाइटिका,टिकाको उत्तम साइत ११:३७ मा


काठमाडौ /१ मंसिर – आज भाइटिका दिदी बहिनीले दाजूभाइलाई सप्तरङ्गी टिका मखमली फूलको माला लगाएर मनाइदै छ । सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली फूलको माला, मिठा स्वादिला खानेकुरा मिठाई, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने परम्परा छ ।

कथन अनुसार एकपटक चेलीले आफ्नो दाजूलाई टिका लाउँदै गर्दा यमराजको दूत उनको दाजुको उमेर पुगिसक्यो अब उनको मृत्यू निश्चय छ भन्दै दाजूलाई लिन आई पुग्छ । ति चेलीले यमदूतलाई टिकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टिकाटालो अनि पूजा गर्छिन । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको भनाइ छ । त्यसकारण चेलीको मायाले दाजभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।

यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टिका लगाउन र पुज्न पाँउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको कथन छ ।

टिका लगाउनुपूर्व दिदीबहिनीले दाजूभाइलाई विशेष पूजा गर्ने चलन छ । भूँईमा चकटि ओछ्याएर बसेको ठाँउ वरिपरि कलशमा तेल पानी राखेर हरियो दूवोबाट पातलो धारा बगाउँदै पाँचपटक वा सात पटक घुमेर घेरेर पूजा प्रारम्भ गरिन्छ । त्यसपछि अक्षता, फूल, चन्दन, धानलाई भूटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेषगर्दै पूजा गर्छन । यमराजको प्रतिक मानेर विमिराको पूजा गरिसकेपछी, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फूटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजूभाइको आरोग्य अनि दिर्घायूको कामनागर्ने चलन छ ।

दाजु भाइहरू पूर्व या पश्चिम तर्फ बस्ने र दिदीबहिनीहरू पूर्व या पश्चिम तर्फ भइ टिका लगाउदा राम्रो हुने साथै तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लगाउन चाहनेका लागि ११ बजेर ३७ मिनेटमा रहेको छ । भाई टिका लगाएपछि यमपञ्चक सहित नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सकिन्छ ।

दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *