काठमाडौं/२३ मंसिर– बाँकेको कोहलपुर क्षेत्रका सम्पूर्ण संस्थागत विद्यालयहरु सोमबार बन्द छन् ।
आईतबार भएको घटनालाई मध्यनजर गरी प्याब्सन, नेपाल प्याब्सन र क्रिशाले संयुक्त विज्ञप्ति जारी गरी कोहलपुर क्षेत्रका सम्पूर्ण शैक्षिक संस्था एक दिनका लागि बन्द गरेका हुन्। ट्रकको ठक्करबाट विद्यार्थी घाइते भएको र सो घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीले विद्यालयका गाडीहरुमा समेत तोडफोड गरेको विरोधमा विद्यालय बन्द गरिएको छ ।
कोहलपुरमा रहेको त्रिभुवन मावि कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्दलाई ट्रकले कुल्चिएपछि कोहलपुर आईतबार तनावग्रस्त भएको थियो । घटनालगत्तै आक्रोशित भएका विद्यार्थीले कोहलपुरमा आन्दोलन गरेका थिए । विद्यार्थीको प्रदर्शन चर्किएपछि नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्याँसको प्रहार गर्नुका साथै विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान समेत भएको थियो । प्रहरीले चलाएको रबरको गोली लागेर दुई विद्यार्थी गम्भीर घाइते भएका थिए ।
आन्दोलनका क्रममा आक्रोशित समूहले विद्यार्थी ओसारपसार गर्दै आएको डाइनामिक माविका दुईवटा बस समेत तोडफोड गरेका थिए । आन्दोलनका क्रममा विद्यार्थी बोकेका सवारी साधनमा भएको तोडफोड प्रति गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ट्रकको ठक्करबाट घाइते भएकी चन्दलाई आईतबार नै नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरको बीएण्डबी अस्पतालमा भर्ना गरिएको छ ।