उपल्लो डोल्पाका विद्यालयमा वार्षिक परीक्षा सञ्चालन

डोल्पा /२३ कार्तिक – चिसो बढ्दै गएपछि हिमपातका कारण विद्यालय बन्द गर्नु पर्ने भएकोले उपल्लो डोल्पाका सार्वजनिक विद्यालयले वार्षिक परीक्षा सञ्चालन गरेका छन । तीन स्थानीय तह मध्ये दुई स्थानीय तहका केही सामुदायिक विद्यालयले वार्षिक परीक्षा सञ्चालन गरेका छन ।

अत्यधिक चिसो हुने भएकाले माथिल्लो डोल्पाका तीन स्थानीय तहका सबै विद्यालयमा फागुनमा शैक्षिक शत्र शुरु भएर कात्तिकमा सकिने गरेको छ । यस क्षेत्रका सामुदायिक विद्यालयमा हरेक वर्ष कात्तिकमै वार्षिक परीक्षा सञ्चालन हुन्छ ।

डोल्पोबुद्धका छ विद्यालयमध्ये पाँच विद्यालयले नतिजासमेत सार्वजनिक गरिसकेका छन । त्यसै गरी वडा नं २ र ४ का टसी गोमाङ बाल विकास केन्द्र, बाल विकास केन्द्र, सिद्धार्थकुला आधारभूत, र इन्द्रधनुष आधारभूत विद्यालयले वार्षिक परीक्षा सकेका हुन । वडा नं ३ को क्रिष्टल माउन्टेन विद्यालयले परीक्षाको तयारी गरिरहेको छ ।

शे फोक्सुण्डो गाउँपालिकाका विद्यालय पनि वार्षिक परीक्षाको तयारीमा छन । जसरी भए पनि १२ वटै विद्यालयले हिमपातअघि नै नतिजा प्रकाशन गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

यही समयमा वार्षिक परीक्षा सक्नुपर्ने उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाका चार विद्यालयले पनि वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिसकेका छन । तीन विद्यालयले कोरोनाका कारण तीन महिना विद्यालयमा पठनपाठन बन्द गरेर अहिले परीक्षा गराएर विद्यालय बन्द गरेका हुन ।

अत्यधिक चिसो हुने र हिमपात पर्ने भएकोले एक महिनाभित्रै परीक्षा गराएर यो वर्षको शैक्षिक सत्र सक्ने विद्यालयहरुको योजना छ ।