राष्ट्रपतिबाट दरबार हाइस्कुलको उद्घाटन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ/ ६ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दरबार हाइस्कुलको उद्घाटन गर्नुभएको छ । पाँच वर्षअघि २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि मित्र राष्ट्र चीनको सहयोगमा दरबार हाइस्कुलको पुनर्निर्माण गरिएको हो ।

राष्ट्रपति भण्डारीले भवनको मूल ढोकाछेउमा रहेको ताम्रपत्र अनावरण गरी विद्यालयको उद्घाटन गर्नुभएको हो । भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पु¥याएकोमा राष्ट्रपति भण्डारीले चीन सरकारलाई धन्यवाद दिनुभयो ।

उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले त्यतिबेला विद्यालयहरू खुल्न नसकिरहेको अवस्थामा दरबार हाइस्कुलको स्थापना भएपछि मुलुकमा शैक्षिक चेतना र जागरणका क्षेत्रमा नयाँ आयाम थपिएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘पूर्वाधारले सुसज्जित यस विद्यालयले नेपालको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको मानक कायम राख्न सफल हुनेछ । ’’

विद्यालयको भवन निर्माण चिनियाँ कम्पनी साङ्घाई कन्सट्रक्सनले गरेको थियो । भवन चीन सरकारको ८५ करोड रुपियाँको सहयोगमा निर्माण सम्पन्न भएको हो । साढे नौ रोपनी क्षेत्रफलमा बनाइएको नयाँ भवन चारतलाको छ । ४५ कोठा रहेका नयाँ भवनमा एकै पटक आठ सय विद्यार्थीले अध्ययन गर्न सक्ने छन ।

त्यसै गरी उद्घाटनकै क्रममा चिनियाँ कम्पनी साङ्घाई कन्सट्रक्सनले विद्यालयको साँचो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हस्तान्तरण गरेका थिए । त्यसपछि उक्त साँचो काठमाडौँ महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरियो ।


सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *