बडादशैँको आठौं दिन आज महाअष्टमी

  •  
  •  
  •  
  •  
  •  


काठमाडौ /८ कार्तिक – आज बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।

आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजाराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविद्को भनाइ छ । चण्डीको आठौंँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने धर्मशास्त्रविद्हरुले बताएका छन् । तर राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचनमा छ ।

आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजाकोठामा आआफ्नो कुल परम्परानुसार काँक्रो, घिरौंँला, कुभिण्डो, मुला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *