युनिर्भसल मेडिकल कलेजका विद्यार्थी र प्रशानसबीच ६ बुँदे सहमित, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं/२२ मंसिर–अवैध शुल्क फिर्ता वा समायोजनको माग गर्दै आन्दोलनमा उत्रिएका युनिर्भसल मेडिकल कलेजका विद्यार्थीले आन्दोलनका कार्यक्रम फिर्ता गरेका छन् ।
शनिबार राती आन्दोलनर विद्यार्थी र कलेज प्रशासनबीच भएको ६ बुँदे सहमति पछि उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीको उपस्थितिमा विद्यार्थी र कलेज प्रशासनबीच सहमति भएको हो । सहमतिपछि आन्दोलनरत विद्यार्थीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
युनर्भिसल मेडिकल कलेजका विद्यार्थी र प्रशासनबीच भएको सहमति यस्ता छन् :
१) शैक्षिक वर्ष ०७५/०७६ को हकमा विद्यार्थीले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्कसमेत तिरिसकेको हकमा त्रिवि रजिस्ट्रेसन शुल्क, काउन्सिल रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम दोस्रो किस्तामा समायोजन गर्ने ।
२) ०७४/०७५ मा विद्यार्थीहरुले पहिलो, दोस्रो र तेस्रो किस्ताको रकम र अन्य शीर्षकमा थप रकम बुझाइ सकेकाहरुको हकमा त्रिवि रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम आजैका मितिबाट समायोजन वा फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने ।
३) शैक्षिक वर्ष ०७२/०७३ र ०७३/०७४ को शुल्कको सम्बन्धमा चिकित्सा शिक्षा आयोगले छानबिन गरिरहेको हुनाले आयोगको निर्णय नहुँदासम्म आगामी दिनमा त्रिविले तोकेको शुल्क बाहेक अन्य थप शिर्षकमा शुल्कहरु विद्यार्थीबाट नलिने ।
४) विद्यार्थीबाट लिइदैं आएको त्रिभुवन विश्वविद्यालय तथा चिकित्सा शिक्षा अध्ययन संस्थानमा बुझाउँदै आएका संस्थातग शुल्क र सम्बन्धन शुल्कहरुको सम्बन्धमा विश्वविद्यालयको समन्वयमा चिकित्सा शिक्षा आयोगबाट निर्णय भई आए बमोजिम गर्ने ।
१) छात्रवृत्तिमा अध्ययन गर्न आएका विद्यार्थीहरुको शुल्कको सम्बन्धमा सरकारले तोकि पठाए अनुसार लिने र पहिलो र दोस्रो वर्षका विद्यार्थीहरुको हकमा सोही अनुसार समायोजन वा फिर्ता गर्ने ।
२) अब उपरान्त वार्षिक परीक्षा शुल्क त्रिविले तोके अनुसार लिने, परीक्षा सञ्चालनका लागि लाग्ने अन्य अतिरिक्त शुल्क सम्बन्धमा विश्वविद्यालयको समन्वयमा चिकित्सा शिक्षा आयोगबाट उचित सम्बोधन गरी निर्णय भई आए बमोजिम गर्ने ।
३) बिडिएस अध्ययनरत विद्यार्थीहरुको हकमा वार्षिक प्रयोगात्मक परीक्षाको समस्या सम्बन्धमा कलेजले सम्बन्धित विभागको समन्वयमा समस्या समाधान गर्ने, साथै कलेजले सञ्चालन गर्ने हेल्थ क्यापमा विद्यार्थीहरुलाई आवश्यकता अनुसार सहभागी गराउने ।
४) इन्र्टनसिपको विद्यार्थीको सम्बन्धमा कलेज प्रशासनसँग सल्लाह, समन्वय गरी आपसी सहमतिमा समस्या समाधान गर्ने ।
५) यस आन्दोलनमा सहभागी भएका विद्यार्थीहरुलाई कलेजले कुनै पुर्वाग्रह नराख्ने, विद्यार्थीहरुको शैक्षिक समस्याहरुको सम्बन्धमा कलेजको एकेडेमी काउन्सिल मार्फत सम्बोधन गर्ने ।
६) यस कलेजमा भएका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु आजकै मितिबाट फिर्ता गर्ने र आन्दोलनका क्रममा लगाइएका सम्पूर्ण तालहरु खोली शैक्षिक प्रशासनिक एवं प्राज्ञिक क्रियाकलापहरु सुचारु गर्ने ।