काठमाडौं २२ असोज सरकारले सबैखाले परीक्षा सञ्चालन गर्न अनुमति दिए संगै लोकसेवा आयोगका परिक्षा हुने भएको छ । कोरोना १९ का कारण स्थगित परिक्षाहरु गर्ने भएको हो ।
आर्थिक वर्ष २०७६/ ७७ का परीक्षा निरन्तरता र चालू आर्थिक वर्ष २०७७/७८ को नयाँ कार्यतालिकासमेत सार्वजनिक गरिरहेको छ ।
आयोगले ‘संक्रमणको विशेष अवस्थामा परीक्षासम्बन्धी मापदण्ड २०७७’ तयार पार्दै परीक्षा सञ्चालन गर्न लाएकोे हो । मापदण्डअनुसार पहिलो चरणमा यसअघि स्थगित सहसचिवस्तरको परीक्षा हुने छ भने गत वर्ष स्थगित खरिदार, नासु तथा अधिकृतसहितका परीक्षा र नयाँ कार्यतालिका क्रमिक रूपमा गर्ने छ ।
आयोगले तयार पारेको मापदण्डअनुसार परीक्षार्थीलाई कोरोना परीक्षण रिपोर्ट आवश्यक पर्ने छैन । परीक्षार्थी स्वयंले आफूलाई संक्रमण भए नभएको घोषणा गर्नुपर्नेछ ।
परीक्षा केन्द्र निर्धारण, व्यवस्थापनमा खटिने कर्मचारी र परीक्षार्थीका लागि निश्चित मापदण्ड तयार पारिएको छ भने एकसय परीक्षार्थीका लागि एक परीक्षा केन्द्र रहनेछ । त्यसै गरी एक कक्षा कोठामा २५ परीक्षार्थी मात्र रहने छन् ।
एक भवनमा एकभन्दा बढी परीक्षा केन्द्र निर्धारण गर्न नपाइने आयोगले व्यवस्था रहेको छ । परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, एक उपकेन्द्राध्यक्ष, प्रतिबीस परीक्षार्थी एक सहायक केन्द्राध्यक्ष, एक समन्वयकर्ता र प्रतिपन्ध्र परीक्षार्थी एक निरीक्षक र तीन सहयोगी मात्र खटाइने छ ।
सरकारले जारी गरेको संक्रामक रोग नियन्त्रण तथा रोकथाम सम्बन्धित सबै मापदण्ड अनिवार्य पालना गर्नपर्ने छ । आकस्मिक प्रयोजनका लागि परीक्षा केन्द्रमा २० थान मास्क, ५ सय एमएल स्यानिटाइजर र साबुनलगाायतका सामग्रीको व्यवस्था गर्ने छ ।
परीक्षास्थलमा आउने सबैले अनिवार्य मास्क, स्यानिटाइजर प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्नेछ । यसक्रममा दूरी कायम गरी कर्मचारीले मास्क खोल्न लगाई उम्मेदवार पहिचान गरेरमात्र परीक्षा हलमा जान अनुमति दिने छ ।



