वैकल्पिक शिक्षण विधि प्रभावकारि नभएको भन्दै रौतहटका विद्यालय खुल्न थाले

रौतहट /२१ असोज – लामो समयदेखि बन्द रहेका रौतहटका सामुदायिक विद्यालयहरु खुल्न थालेका छन् । वैकल्पिक शिक्षण विधि प्रभावकारि नभएको भन्दै धमाधम विद्यालयहरु खुल्न थालेका हुन् ।

अगामी २२ गतेदेखि रौतहटका फतुवा विजयपुर नगरपालिका अन्तरगतका सबै सामुदायिक विद्यालय सञ्चालनमा आउन लागेका छन् । मंगलबार बसेको बैठकको निर्णय बमोजिम अगामी २२ गते देखि सामुदायिक विद्यालय सञ्चालन गर्न फतुवा विजयपुरका नगरपालिकाले निर्देशन दिएको छ ।

विगतको तुलनामा हाल वातावरण सहज भएपनि कोरोना भाईरसको जोखिम यथावत रहेकाले सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार पठनपाठन गर्ने तयारी गरिएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम सामाजिक भौतिक दुरि कायम राखेर स्वास्थ मापदण्डअनुसार कक्षा सञ्चालन गर्ने जनाइएको छ ।

एउटा कक्षाकोठामा २० जना सम्म विद्यार्थी राख्न पाइने छ भने मास्क सेनिटाईजर अनिवार्य प्रयोग गरेर विद्यालय सञ्चालन गर्न फतुवा बिजयपुरका मेयर गोपालप्रसाद यादवद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।

१८ स्थानीय तहमध्ये यसअघि चन्रपुर र गौर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालय सञ्चालन भैसकेका छन् ।