काठमाडौं/१९ मंसिर– सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रुपमा मनाउने तयारीमा रहेको सरकारले गीत–संगीतमार्फत पनि यसको प्रचारप्रसार गर्ने तयारी गरेको छ ।
नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक आह्वान गरेको छ । सचिवालयका अनुसार गीतका शब्द नेपालको बहुपक्षीय सुन्दरता तथा सिंगो नेपालको कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्यता झल्कने हुनुपर्नेछ । रचना गरेको गीत सचिवालयको केशरमहलस्थित कार्यालय पुगेर वा इमेतमार्फत १० दिनभित्र पठाउनुपर्ने सचिवालयको भनाई छ । सचिवालयका अनुसार प्राप्त गीतमध्ये छनोटमा परेका उत्कृष्ट गीतलाई उपयुक्त पुरस्कार प्रदान गरिनेछ ।
नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार गीत–संगीतबाट गर्दा प्रभावकारी हुने भएकाले नेपाल भ्रमण वर्ष गीत रचनाका लागि सार्वजनिक आह्वान गरिएको सचिवालयको भनाई छ ।