इस्लामावाद /१५ असोज – करीब छ महिना पछि पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका हुन् । बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको सरकारी अधिकारीहरुले जानकारी दिएको पीटीआईमा लेखिएको छ । अहिले सम्म पाकिस्तानमा करीब तीन लाख भन्दा बढी मानिस सङ्क्रमित भएको पनि अधिकारीहरुले बताएका छन् ।
पाकिस्तानमा सरकारी तथा निजी दुवै प्रकारका विद्यालय सञ्चालन हुन थालेको जनाइएको छ । सञ्चालन गर्न थालिएका विद्यालयमा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पलनामा भने अत्यन्त कडाइ निगरानि र गरिएको बताएका छन् । साथै मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
केन्द्रीय शिक्षा मन्त्री शाफ्क्वात मोहमदले विद्यालय बन्द हुँदा सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थी प्रभावित भएको र खुलेपछि सबैभन्दा धेरै पनि उनीहरु नै आएको बताए । कोरोनाभाइरसको महामारीका बारेमा विश्लेषणात्मक अध्ययन गरी सरोकारवालाको सुझावका आधारमा विद्यालय खोल्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।
पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख १२ हजार २६३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यस्तै कूल मृतकको सङ्ख्या ६ हजार ४७९ जना पुगेको छ । पाकिस्तानमा अहिले पनि कोरोनाभाइरसको सङ्क्रमणका कारण ४६७ जना गम्भीर अवस्थामा रहेका छन् ।मन्त्रालयका अनुसार पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये दुई लाख ९६ हजार ८८१ जना अहिले पूर्णरुपमा सङ्क्रमणमुक्त भइसकेका छन् ।पाकिस्तानमा अहिलेसम्म ३५ लाख १४ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ ।
स्रोत: पीटीआई



