वेभ तस्बिर
काठमाडौ/ १३ असोज – बराका शैक्षिक संस्थाहरू खुल्न थालेपछि बारा शिक्षा विकास तथा समन्वय इकाईले शैक्षिक संस्था सञ्चालन नगर्न निर्देशन दिएको छ ।
बारामा कोरोना महामारीका बिच संचालनमा आएका बिद्यालयहरु बन्द गर्न तथा बन्द रहेका विद्यालयहरुलाई समेत तत्काल नखुलाउन भन्दै शिक्षा विकास तथा समन्वय इकाई बाराले बाराका सबै स्थानिय तहलाई निर्देशन दिएको छ ।
स्थानीय तहहरूको निर्णयमा विद्यालयहरुले विद्यार्थीहरुलाई कक्षाकोठामा बोलाएर पठनपाठन गरेकोले यसरी पठनपाठन नगराउन निर्देशन दिएको हो ।
शिक्षा मन्त्रालयले विद्यार्थीहरूको शिक्षण सिकाइका गतिविधि अवरुद्ध नहोस भनेर विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । सोहि अनुसार सिकाइ सहजिकरण गर्नु पर्नेमा निर्देशिकाको विपरित विद्यार्थीहरुलाई कक्षाकोठामा बोलाएर पठनपाठन गरेकोले सहजीकरण निर्देशिकामा तोकिएको वैकल्पिक सिकाई प्रणाली बाहेक अन्य किसिमबाट पठापाठन सञ्चालन नगर्न भनिएको छ ।
बाराको बारा गढी गाउँपालिका लगायतका केहि पालिकाहरुले भौतिक रुपमै विद्यालय संचालन गर्ने निर्णय गरे पछि एकाई गम्भीर भएको हो ।



