पुर्चौडी नगरपालिकाका सञ्चालनमा अएका विद्यालय अनिश्चितकालका लागि पुनः बन्द

बैतडी/ १२ असोज – बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । पुर्चौडी–३ का २९ वर्षीय युवकको कोरोना सङ्क्रमणका कारण मृत्यु हुनुका साथै अन्य आठ नयाँ सङ्क्रमित थपिएपछि अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिए पछि सञ्चालनमा अएका विद्यालयहरु पुनः बन्द भएका छन । कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय असोज ७ गतेदेखि सञ्चालनमा आएका थिए ।

नगरपालिकाले अनिश्चितकालका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेसँगै विद्यालय पनि बन्द भएका छन । आइतबार विद्यालय सञ्चालनमा आएका भए पनि पछि नगरपालिकाले सूचना निकालेपछि बीचमै विद्यालय बन्द भएका हुन् ।

विद्यालय पुनः बन्द हुँदा विद्यार्थीलाई समस्या भएको अभिभावकको भनाइ छ । शिक्षण सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्नुपर्दा पठनपाठनमा समस्या देखिएको छ । यसअघि नगरपालिकाले नगर कोरोना सङ्क्रमित मुक्त भएकाले विद्यालय सञ्चालनमा ल्याएको थियो । अब अर्को निर्णय नगर्दासम्म विद्यालय बन्द रहने छन् ।

नगरमा ७५ सामुदायिक र तीन संस्थागत विद्यालय छन् भने करिब १४ हजार विद्यार्थी अध्ययनरत छन ।