काभ्रे/ ७ असोज – कोभिड १९ संक्रमणका कारण लामो समय बन्द रहेका पाँचखालका विद्यालयहरु सञ्चालनमा आएका छन् । विद्यालय सञ्चालन गर्नु अघि पाँचखाल नगरपालिकाले अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरुसँग छलफल गरेर सोमबारबाट पठनपाठन सुरु गरेको हो ।
नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाएर आजबाट सञ्चालनमा आएका हुन ।
नगरप्रमुख महेश खरेलले भौतिक दूरी कायम गर्दे एक बेञ्चमा एक जना मात्रै राखेर पठन पाठन गर्ने व्यवस्था मिलाएको बताए । साथै कक्षा सञ्चालनका लागि जोर विजोर प्रणाली लागू गरिएको नगरपालिकाले जनाएको छ । सबै विद्यार्थीका लागि नगरपालिकाले माक्स वितरण गरेको छ भने साबुन खरिद गर्न विद्यालयलाई अनुदान दिएको छ ।
पाँचखाल नगरपालिकाले विद्यालयहरु सञ्चालन गर्ने निर्णय भएपछि पठनपाठन शुरु गरेसँगै काभ्रेका अन्य स्थानीयतहहरुले पनि विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न थालेका छन् ।
नगरपालिकामा ३९ सामुदायिक र ११ निजी विद्यालय सञ्चालनमा छन् ।



