कालापानीसहितको नेपालको भूमि समावेश पाठयपुस्तक वितरणमा रोक

काठमाडौ /७ असोज – कालापानीसहितको नेपालको भूमि समावेश पाठयपुस्तकको वितरण नहुने भएको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा नेपालको भूमि समावेश पाठयपुस्तकको वितरण रोकिएको शिक्षामन्त्री गिरीराजमणि पोखरेलले जानकारी दिए ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठकमा नै प्रधानमन्त्री ओलीले पाठ्यपुस्तक बितरण रोक्न निर्देशन दिएको जानकारी दिएका हुन् ।

‘किताब वितरण रोक्नुस भनेर प्रधानमन्त्रीले मन्त्रिपरिषद्मै भन्नुभयो, अब परराष्ट्र, भूमि व्यवस्था मन्त्रालयसहित छलफल गर्छौँ । अन्तरमन्त्रालय छलफल गरेर स्पष्ट पार्छौँ,’ मंगलबार पत्रकार सम्मेलनमा भने ।

पुस्तकमा उल्लेख भएका तथ्यले भारतसँगको सम्बन्धमा असर पार्न सक्ने भन्दै पुस्तक वितरणमा रोक लगाउने विषयमा सरकारका विभिन्न निकायसंग छलफल भएको र पुस्तकले भारतसँगको कूटनीतिक सम्बन्ध बिगार्न सक्ने भन्दै प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ भएको थियो । उनले भने, ‘सरकारले नक्सा सार्वजनिक गर्दा, संसद्मा छलफल हुँदा, संसद्मा सर्वसम्मत पारित गर्न हुने, तर संविधानमा भएको विषयवस्तु बालबालिकाले पढ्दा कूटनीतिक सम्बन्ध बिग्रन्छ भन्न कसरी मिल्छ ?’

लिपुलेक, कालापानी र लिम्पियाधुराको ४६० दशमलव २८ वर्गकिलोमिटर भूभाग थपिएर नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार ६४१ दशमलव २८ वर्गकिलोमिटर पुगेको विवरण किताबमा छ । पुस्तक तयार भएपछि गत साता शिक्षामन्त्री पोखरेलले सार्वजनिक गरेका थिए ।