धेरै विश्वविद्यालयले परिक्षा गर्दे, त्रिवि अलमलमा, पोखराको अनिश्चित

काठमाडौँ /६ असोज – कोभिड १९ माहामारीका कारण लामो समय देखि शैक्षिक संस्था बन्द छन् । साथै विश्वविद्यालयका सम्पुर्ण परिक्षा प्रभावित भएका छन् । यसरी लामो समय शैक्षिक संस्था बन्द हुँदा र परिक्षा हुन नसक्दा विश्वविद्यालयको क्यालेण्डर प्रभावित भएको छ ।


कोभिड–१९को सङ्क्रमण कायमै रहे पनि अधिकांश विश्वविद्यालयले विभिन्न विधि अपनाएर भए पनि परिक्षा सञ्चालन गर्न थालेका छन् । भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर परिक्षा सञ्चालन गर्न सम्भव नभए पछि अनलाइन माध्यमबाट परिक्षा सञ्चलन गरिदै छ भने थोरै विद्यार्थि भएका विश्वविद्यालयले विद्यार्थीलाइ सहज हुने र घर वरिपरिनै परिक्षा केन्द्र राखेर परिक्षा सञ्चालन गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा असोज १३ गतेदेखि
पूर्वाञ्चल विश्वविद्यालयले नियमित तर्फको सेमेष्टर प्रणालीको परीक्षा असोज १३ गतेदेखि सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा. डा. सूर्यप्रसाद संग्रौलाले नियमित तर्फ पहिलो, तेस्रो, पाँचौ र सातौं सेमेष्टरको परीक्षा असोज १३ गतेदेखि तिहारको अघिल्लो दिन सम्म सक्ने गरी समय तालिका बनाएको बताए ।

पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा वैकल्पिक प्रणाली “टाइम बाउन्ड होम एक्जाम” बाट सञ्चालन गर्ने भएको हो । विश्वविद्यालय प्राज्ञिक परिषद् र कार्यकारी परिषद् निर्णयानुसार सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरु मात्र वैकल्पिक विधिबाट गर्ने निर्णय भएको थियो ।

तर विश्वविद्यालयले सेमेष्टर तर्फको स्थगित आंशिक परिक्षाहरु र वार्षिक परिक्षा प्रणाली तर्फका स्थगित नियमित एवं आंशिक परिक्षाहरु सेमेष्टर तर्फका नियमित विद्यार्थीहरुको परिक्षा सकिएपछि यसै वर्षको मंसिर महिना भित्र परिक्षा गर्ने जनाएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको परिक्षा असोज १७ गतेदेखि
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कोभिड १९ का कारण स्थगित भएका परिक्षा असोज १७ गते देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने छ । पहिलो चरणको यो परीक्षा कात्तिक ३ भित्र सकिने छ भने दोस्रो चरणको परिक्षा मङ्सिरको पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी रहेको विश्वविद्यालयले जनाएको छ ।

परीक्षा विहान ८ बजेबाट सुरु भई अपराह्न ४ बजे भित्र परीक्षार्थीले विश्वविद्यालयले तोकिएको इमेल ठेगानामा पठाई सक्नुपर्ने छ ।

विश्वविद्यालयले तोकेको परिक्षा केन्द्रमा विद्यार्थीको भौतिक उपस्थिति गराई परिक्षा संचालन गर्न सम्भब नभएपछि “वैकल्पिक विधिबाट परिक्षा संचालन,व्यावस्थापन,र मुल्याङकन प्रणाली सम्बन्धि निर्देशिका २०७७” अनुसार वैकल्पिक विधिबाट परिक्षा संचालन गर्ने भएको हो ।

विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन गर्ने छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको “डोर टु डोर” परीक्षा सञ्चालन
लुम्बिनी बौद्ध विश्वविद्यालयले “डोर टु डोर” परीक्षा सञ्चालन गरेरहेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले रोकिएको परीक्षा विद्यार्थीहरुलाई पायक पर्ने स्थानमै सञ्चालन गरिरहेको छ ।


स्नातकोत्तर तहका लागि अनलाइन र स्नातकका लागि पुरानै विधिबाट विद्यार्थीको घर नजीकै केन्द्र तोकी परीक्षा दिने व्यवस्था मिलाइएको छ । विश्वविद्यालयका रजिष्टार तिलक आचार्यले एउटा परीक्षा केन्द्रमा १५ जना विद्यार्थी नबढ्ने गरी परीक्षा सुरु गरिएको जानकारी दिएका छन् ।

परीक्षार्थीलाई सुरक्षित बनाउन दुई–दुई मिटरको दूरीमा राखिएको र विश्वविद्यालयबाटै मास्क, पन्जा र सेनिटाइजर दिने व्यवस्था गरिएको छ । हरेक दिन परीक्षा हल सेनिटाइज गर्ने, ज्वरो नाप्ने र स्वास्थ्यकर्मी खटाउने गरिएको छ । धेरै विद्यार्थी भएका संकायमा “डोर टु डोर” परीक्षा लिएको विश्वविद्यालयले कम विद्यार्थी हुने संकायका परीक्षा भने अनलाइनमार्फत सुरु गरेको छ । जसमा विद्यार्थीलाई पूर्ण निगरानीमा राख्ने र उत्तरपुस्तिका तत्काल लिने गरिएको छ ।

परीक्षा सञ्चालनका लागि भने रूपन्देही, कपिलवस्तु, नवलपरासी, काठमाडौं र हुम्ला जिल्लाका २० स्थानमा परीक्षा केन्द्र तोकेको छ ।

असोज ९ गतेबाट परिक्षा लिने तयारीमा सुदूरपश्चिमाञ्चल विश्वविद्यायको
सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले कोभिड १९ का कारण रोकिएका परीक्षा अनलाइनबाट लिने तयारी गरेको छ ।

विश्वविद्यालयले असोज ९ गते देखि स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा अनलाइनबाट सञ्चालन गर्ने तयारी गरिरहेको छ । विश्वविद्यालयले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७ जारी गर्नुका साथै अनलाइन परीक्षाका लागि सिकाइ व्यवस्थापन प्रणाली नामक सफ्टवेयरसमेत निर्माण गरेको छ ।

सफ्टवेयरमार्फत परीक्षार्थीलाई व्यक्तिगत इमेलमा प्रश्नपत्र पठाइने छ । परीक्षार्थीले तोकिएको समय अवधिभित्र उत्तरपुस्तीका स्क्यान गरी इमेलमार्फत परीक्षा नियन्त्रण कार्यालयलाई पठाउनुपर्नेछ छ ।

विश्वविद्यायलयका उपकुलपति प्रा. डा. अमराज जोशीले असोजबाट सञ्चालन गर्ने परीक्षाका लागि कार्यविधि समेत पास भइसकेको जानकारी दिए । १४ वटै आङ्गिक क्याम्पससँग परीक्षा सञ्चालनका लागि छलफल गरेर लिखित रुपमा पत्राचार गरिसकेको समेत बताए ।

विश्वविद्यालयले अनलाइन परीक्षामा सहभागी हुन इन्टरनेट समस्या भएका विद्यार्थीका लागि ‘आइसिटी सेन्टर’ को स्थापना गर्ने जनाएको छ ।

संस्कृत विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने
नेपाल संस्कृत विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने भएको छ । प्रविधिमा विद्यार्थीको पहुँच नभएपछि उत्त निर्णय गरेको विश्वविद्यालयले जनाएको छ ।

पहिलो चरणमा असोज १५ बाट आयुर्वेद स्नातक (बीएएमएस) तहको नियमित तथा पूरक तहका विद्यार्थीको परीक्षा लिने निर्णय गरेको छ । त्यसै गरि बीएएमएसतर्फ प्रथम, द्वितीय र तृतीय वर्षका विद्यार्थीको परीक्षा लिने निर्णय गरेको छ ।

यसका साथै विश्वविद्यालयले अन्य तहका परीक्षाको तयारीसमेत अघि बढाएको जनाएको छ । यस क्रममा मङ्सिरमा शास्त्री प्रथम, द्वितीय, तृतीयका विद्यार्थीको परीक्षा लिने भएको छ ।

त्रिवि अलमलमै
सबै भन्दा धेरै विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालयले परिक्षाको विषयमा अहिले सम्म कुनै निर्णय लिन सकेको छैन । धेरै विद्यार्थी भएका कारण त्रिभुवन विश्वविद्यालयलाई निर्णय लिन गाह्रो भएको हो । विद्यार्थीलाई कसरी व्यावस्थापन गर्ने र विद्यार्थी सम्मको पहुच कसरी पुराउने भन्ने विषयमै त्रिवि अलमलमा रहेको विश्वविद्यालयका पदाधिकारीले जनाकारी दिएका छन् । विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहको स्थगित परीक्षा सञ्चालन हुन सकेको छैन ।

तथापी परिक्षाको विषयमा पदाधिकारी विच छलफल भइरहेको र छिटै परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने विश्वविद्यालयले जानकारी दिएको छ ।

पोखरा विश्वविद्यालय नेतृत्व विहिन परिक्षा अनिश्चित
पोखरा विश्वविद्यालयमा वितग १२ महिनादेखि उपकुलपति लगायतका १३ पद रिक्त छन् । विगत १२ महिना देखि उपकुलपती खाली छ भने रजिष्ट्रार, चारवटा मध्ये ३ वटा डिन,अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक, अन्तराष्ट्रिय केन्द्रका कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक, योजना तथा कार्यक्रम महाशाखा प्रमुख, स्कुल निर्देशकहरु (क्याम्पस प्रमुख) ३ जना गरेर १५ पद मध्ये १३ पद रिक्त हुँदा विश्वविद्यालयले शैक्षिक निर्णय लिन सकेको छैन ।अहिले विश्वविद्यालयको सम्पूर्ण जिम्मेवारी व्यवस्थापन संकायका डिन हरि खड्काले हेरिरहेका छन् ।


कोरोना कहरसँगै अन्य विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरी पठनपाठनलाई अघि बढाउदै अनलाइन परीक्षा लिइरहेको अवस्थामा पोखरा विश्वविद्यालयमा भर्खैर अनलाइन कक्षा सञ्चालन गरेको छ । डिन खड्काका अनुसार विद्यार्थीका आगामी सेमेष्टरको वा नयाँ शैक्षिकसत्रका कक्षा अनलाइनबाट गर्ने निर्णय भएको हो । तर, अनलाइन कक्षा संचालन भएपनि रोकिएका परीक्षा कसरी लिने, परीक्षालाई कसरी व्यवस्थापन गर्ने लगायतका निर्णयको लागि पदाधिकारीको बैठक बस्नुपर्ने हुन्छ । पदाधिकारी नभएकाले विश्वविद्यालयले लिनुपर्ने कुनै पनि निर्णय लिन सकेको अवस्था छैन ।
यसरी विश्वविद्यालय लामो समयदेखि नेतृत्व विहिन हुँदा विश्वविद्यालयमा अध्ययनरत झण्डै ४० हजार विद्यार्थीको भविष्य जोखिममा परेको छ ।