काठमाडौं /३० भदौ – पोखरा विश्वविद्यालयमा वितग १२ महिनादेखि उपकुलपति लगायतका १३ पद रिक्त छन् । नेपालका अन्य विश्वविद्यालयहरुले ढिलै भएपनि मूल नेतृत्व प्राप्त गरी सकेकोमा पोखरा विश्वविद्यालयकमा पटक पटक तीन महिने उपकुलपति नियुक्ति गरी अस्थिरता निम्त्याउने कार्य भइरहेको छ ।
विगत १२ महिना देखि उपकुलपती खाली छ भने रजिष्ट्रार, चारवटा मध्ये ३ वटा डिन (फ्याकल्टि साइन्स अफ टेक्नोलोजी,फ्याकल्टि अफ हेल्थ साइन्स, फयाकल्टि अफ ह्युमानिटिज एण्ड सोसल साइन्स) खाली छन्, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक, अन्तराष्ट्रिय केन्द्रका कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक, योजना तथा कार्यक्रम महाशाखा प्रमुख, स्कुल निर्देशकहरु (क्याम्पस प्रमुख) ३ जना गरेर १५ पद मध्ये १३ पद रिक्त हुँदा विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक कारोबार समेत ठप्प भएको छ ।
यसरी विश्वविद्यालय लामो समयदेखि नेतृत्व विहिन हुँदा विश्वविद्यालयमा अध्ययनरत झण्डै ४० हजार विद्यार्थीको भविष्य जोखिममा परेको छ । विश्वविद्यालयमा उपकुलपति नियुक्तिको माग राख्दै प्राध्यापक संघ, स्वतन्त्र विद्यार्थी, विद्यार्थी युनियनहरुले कुलपतिको ध्यानाकर्षण गराउँदा पनि अहिलेसम्म सुनुवाइ हुन सकेको छैन ।
विश्वविद्यालयको प्रमुख कार्यकारी पद लामो समयदेखि खाली रहँदा विश्वविद्यालयको सर्वोच्च निकाय विश्वविद्यालय सभा हुन नसकी विद्यार्थीहरुको दिक्षान्त समारोह हुन नसक्नुका साथै विश्वविद्यालयको नीति निर्माण, प्राज्ञिक परिषद, कार्यकारी परिषदको बैठक समेत हुन नसक्दा विश्वविद्यालयको प्राज्ञिक एवं प्रशासनिक निर्णयहरु प्रभावित भएको छ । पोखरा विश्वविद्यालय विगत लामो समयदेखि अस्थिरता र अनिश्चितताका बीच गुुज्रिरहको अवस्था छ । अहिले विश्वविद्यालयको सम्पूर्ण जिम्मेवारी व्यवस्थापन संकायका डिन हरि खड्काले लिएका छन् ।
कोरोना कहरसँगै अन्य विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरी पठनपाठनलाई अघि बढाउदै अनलाइन परीक्षा लिइरहेको अवस्थामा पोखरा विश्वविद्यालयमा भर्खैर अनलाइन कक्षा सञ्चालन र परीक्षाको विषयमा छलफल गरिएको छ । डिन खड्काका अनुसार सम्बन्धन प्राप्त कलेजहरुका प्रतिनिधिहरु, कर्मचारी, सम्पूर्ण सम्बन्धित व्यक्तिहरुसँग छलफल गरेर व्यवस्थापन संकाय लगायत सबै संकायको अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । उक्त छलफलबाट विद्यार्थीका आगामी सेमेष्टरको वा नयाँ शैक्षिकसत्रका कक्षा अनलाइनबाट गर्ने निर्णय भएको हो । तर, अनलाइन कक्षा संचालन भएपनि रोकिएका परीक्षा कसरी लिने, परीक्षालाई कसरी व्यवस्थापन गर्ने लगायतका निर्णयको लागि पदाधिकारीको बैठक बस्नुपर्ने हुन्छ । पदाधिकारी नभएकाले विश्वविद्यालयले लिनुपर्ने कुनै पनि निर्णय लिन सकेको अवस्था छैन । साथै विद्यार्थीलाई दिइने प्रमाण पत्र र ट्रान्सक्रिष्ट दिन पनि रोकिएको उनको भनाइ छ । साथै विभिन्न पद रिक्त हुँदा विश्वविद्यालयको प्रशासनिक तथा आर्थिक कारोबार समेत प्रभावित भएको व्यवस्थित संकायका डिन हरि खड्काले बताए ।
विश्वविद्यालयमा अहिले सम्पूर्ण काम रोकिनुको प्रमुख कारण उपकुलपति नियुक्ति नहुनु नै हो । उपकुलपतिको नियुक्ति पछि उनको सिफारिसमा रजिस्ट्रारको नियुक्ति कुलपतिबाट हुने गर्छ । उपकुलपति र रजिष्ट्रारको नियुक्ति भएपछि कार्यकारी परिषद्को बैठक बसेर अरु नियुक्ति हुन्छ । तर, लामो समयदेखि विश्वविद्यालयमा उपकुलपति नियुक्ति हुन सकेको छैन । जसले गर्दा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ । विश्वविद्यालय अध्ययन गर्ने विद्यार्थीले लामो समय उपकुलपतिको पद खाली हुँदा विश्वविद्यालयले निर्णय लिन नसक्दा आफ्नो भविष्यनै अन्योलमा परेको गुनासो गरिरहेका छन् । अरु विश्वविद्यालयले अनलाइन कक्षा लगायत परीक्षा सञ्चालन गर्दा पोखरा विश्वविद्यालय पदाधिकारीकै कारण कुनै निर्णय भएको छैन यसले हामीलाई मनोवैज्ञानिक रुपमा पनि तनाव भएको एक विद्यार्थीले बताए ।
विश्वविद्यालयका सम्बन्धित व्यक्ति, विद्यार्थीहरु, प्राध्यापक संघ लगायतले पटक पटक शिक्षा मन्त्रीलाई आग्रह गर्दा पनि उपकुलपति नियुक्ति नहुनु भनेको मन्त्रालय विद्यार्थीको भविष्य प्रति गम्भिर नभएको नेपाल अभिभावक संघका अध्यक्ष शुप्रभात भण्डारीको भनाइ छ । विश्वविद्यालय प्राज्ञिक थलो हो । प्राज्ञिक व्यक्ति जानुपर्छ, त्यसकारण राजनितिक भागबण्डाका कारणले विश्वविद्यालयलाई यसरी बन्धक बनाएर राख्नु गम्भिर कुरा भएको बताए ।
त्यसैगरी, शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले केही समस्या रहेको र छिटै नै समाधान हुने बताए । तर, १२ महिना हुनै लागि सक्यो अब कहिले होला भन्ने खबर एजुकेशनको प्रश्नमा यो विषयमा उनले खासै बोल्न चाहेनन् ।