काठमाडौं/२७ भदौ – कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी असर शिक्षा क्षेत्रमा परेको छ । कोरोना संक्रमण फैलिने बित्तिकै बन्द भए विद्यालयहरु अझै सञ्चालनमा आउन सकेका छैनन् । केही देशले विस्तारै विद्यालय खुलाउन थाले पनि कतिपयले आगामी जनवरीसम्मै विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। पूर्वी अफ्रिकी मुलुक केन्यामा पनि कोरोना भाइरसको संक्रमण फैलिएसँगै धेरैजसो क्षेत्रहरू बन्द गरिएका छन् भने सरकारले विद्यालय जनवरीसम्मका लागि बन्द गर्न भनेको छ।

लामोसम्म विद्यालय बन्द हुँदा त्यहाँका निजी विद्यालयका लगानीकर्ता र शिक्षक कर्मचारी आर्थिक समस्यामा परेका छन्।
विद्यालय सञ्चालनमा नभएपछि आर्थिक समस्या भोगेका त्यहाँका निजी विद्यालय सञ्चालकले विद्यालयको कक्षाकोठामा कुखुरा पाल्न गरेका छन् । कोरोना आउनुअघि म्वेए ब्रिथ्रेन स्कुलका कक्षाकोठामा विद्यार्थीहरूले पढ्दै गरेको आवाज सुनिन्थ्यो। तर, अहिले त्यहाँ कुखुरा बासेको सुनिन्छ भने कक्षाकोठाको बोर्डमा हिसाबका गुणनको सट्टामा कुखुरालाई दिइने भ्याक्सिनका तालिकाहरू लेखिन थालिएको छ ।
शिक्षाबाट आम्दानी हुन छोडेपछि केन्द्रीय केन्यन स्कुलका सञ्चालक जोसेफ मैनाले कक्षा कोठामा कुखुरा पालेर पैसा कमाउन बाध्य भएको बताएका छन् । पहिले त सबै गुमाएँ जस्तो भएको थियो। तर हामीले बाँच्नका लागि विद्यालयलाई केही गर्नुपर्ने सोच्यौं, मैनाले बिबिसीसँग भनेका छन्।

यस्तै, केन्याकै अर्को रोका प्रेपारेटोरी नामक विद्यालयको परिसरमा पनि खेती गर्न थालिएको छ। २३ वर्ष अघि स्कुल खोलेका जेम्स कुङ्ग युले भने,यस्तो खराब अवस्था यसअघि कहिल्यै आएको थिएन। विद्यालयको खेल मैदानमा अहिले उनले तरकारी उब्जाउने गरेका छन्। तरकारी सँगसँगै उनले पनि कुखुरा पाल्न थालेका छन्। मेरो पनि अरू विद्यालयको जस्तै अवस्था छ। शिक्षक तथा विद्यार्थीहरू आउन छाडे। मनोवैज्ञानिक रूपमा हामीलाई धेरै असर परेको छ,उनले भने।
केन्यामा निजी विद्यालयका शिक्षकको तलब विद्यार्थीहरूले तिर्ने शुल्कबाट पाउँने गर्थे । तर, लामो समयदेखि विद्यालय बन्द भएपछि बोर्डिङ स्कुल आफ्ना कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा आइपुगेका छन्। केन्या प्राइभेट स्कुल्स एसोसियसनका प्रमुख कार्यकारी पिटर नडोरोले भने,करिब ९५ प्रतिशत अर्थात् तीन लाख बढी निजी विद्यालयका शिक्षकहरू बेतलबी बिदामा बस्न बाध्य भएका छन् । केन्यामा एक सय ३३ विद्यालय त सधैँका लागि बन्द भइसकेका छन्।
स्रोत : बिबिसी