काठमाडौं/२७ भदौ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी भएदेखि स्थगित भएका विभिन्न भाषाका परीक्षाहरु सञ्चालन गर्न पाइने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरी ती परीक्षाहरु सञ्चालन गर्न सकिने बताइएको हो ।अति आवश्यक पर्ने परीक्षा जस्तैस् व्यवसायिक अंग्रेजी परीक्षण, टोफेल, जीआरई, जेएलएफडब्लु, आइईएलटिएस, जिम्याट लगायतका परीक्षाहरु सञ्चालन गर्न सकिनेछ । यस्तै, प्रकृतिका परीक्षाहरु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको परीक्षा संचालन कार्यविधि, २०७७ ले तय गरेको विधि अनुसार गराउन जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
अहिले शैक्षिक परामर्श संस्था वा भाषा कक्षा सञ्चालनको लागि अनुमति नदिएको काठमाडौं जिल्ला प्रशासन कार्यालय प्रमुख जनकराज दाहालले बताए । परीक्षा लिने निकायहरुलाई मात्र परीक्षा लिनका लागि अनुमति दिएको उनको भनाइ छ । भाषा परीक्षा दिन नपाएर अप्ठेरोमा परेका व्यक्तिहरुको सहजीकरणका लागि अनुमति दिएको खबर एजुकेशनलाई जानकारी दिए ।
शैक्षिक परामर्श संस्थाहरुमा स्कुल/कलेजमा जस्तो धेरै विद्यार्थी र भिडभाड नहुने भएकाले सञ्चालनको लागि किन अनुमति नदिनुभएको भन्ने खबर एजुकेशको प्रश्नमा उनले यो विषयमा कुनै छलफल नभएको बताए । अहिलेको यस्तो अवस्थामा कसैले खोलेको छ भने कारवाही गरिने जानकारी दिए । उनका अनुसार यसको लागि अनुगमन भइरहेको छ ।
यता, शैक्षिक परामर्श व्यवसायीले एनओसी वितरण पुनः सुरु भएसँगै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आइरहेका छन् ।