काठमाडौं/१८ भदौ – हेटौंडाका निजी विद्यालयका शिक्षकहरुले तलब नपाएपछि आन्दोलन सुरु गरेका छन् ।
१३ भदौमा प्याब्सन जिल्ला समिति र हेटौँडा नगर समितिले विज्ञप्ति जारी गर्दै शुल्क नउठ्दा आर्थिक भार थेग्न नसकेका कारण भदौदेखि तलब दिन नसक्ने बताएको थियो । उक्त निर्णय फिर्ता लिन शिक्षकहरुले प्याब्सनलाई तीन दिने अल्टिमेटम पनि दिएका थिए । तर, प्याब्सनले शिक्षकहरुको माग सम्बोधन गर्न चासो नदेखाएपछि उनीहरु आन्दोलित बनेका हुन् ।
संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) ले जिल्ला समिति र हेटौँडा नगर समितिले निर्णय फिर्ता लिन आग्रह गर्दै आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
इष्टुले आन्दोलनले माग पूरा नभएपछि आन्दोलनका कार्यक्रमहरु तय गरेको छ । इष्टुले २० भदौमा प्याब्सन कार्यालयमा तालाबन्दी, २१ भदौबाट २०७६ साल चैतसम्मको तलब निकासी नगर्ने विद्यालयको नामावली प्रकाशन गर्दै सेवा सुविधा निकासीका लागि तीन दिनको समयावधि दिने र त्यसो नभए सम्बन्धित विद्यालयमा तालाबन्दी गर्ने जनाएको छ ।
इष्टुद्वारा जारी हुने कालोसूचीमा परेका विद्यालयको तालाबन्दी सकिएपछि प्याब्सन अध्यक्ष तथा नगर अध्यक्षको विद्यालयमा तालाबन्दी गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।