काठमाडौं/ ७ भदौ – कोरोना संक्रमित राख्नका लागि संखुवासभामा बनाइएको आइसोलेसन वार्ड तोडफोड गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् ।
हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा पक्राउ गरिएको प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै हिजो जानकारी दिएको हो । बिहिबार राति तोडफोडपछि आइसोलेसन प्रयोगका लागि राखिएको करिब १५ लाख रुपैयाँ बराबरको सामग्री हराएको थियो । अस्पतालका अनुसार ७० पिपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडर लगायतका सामग्री हराएको छ ।
जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले तिम्सिनालाई पक्राउ गरेको हो । प्रहरीले तिम्सिनामाथि आपराधिक उपद्रव गर्न नहुने मुद्दामा अनुसन्धान सुरू गरेको जनाएको छ ।