विद्यालय सञ्चालन निर्णयको अधिकार स्थानीय तहलाई दिन सुझाव

काठमाडौं/६ भदौ – शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई स्थानीय तहका प्रमुखहरुले शैक्षिकसत्र सुरु भएको घोषणा गर्न सुझाव दिएका छन् ।


कोभिड -१९ को संक्रमणपछि विद्यालय शिक्षामा पारेको प्रभाव र भविष्यमा अवलम्बन गर्नुपर्ने उपायबारे सुझाव संकलन गर्न मन्त्री पोखरेलले प्रदेश नम्बर एक, दुई, बागमती तथा पाँच नम्बरका सामजिक विकास मन्त्रालयका अधिकारी, प्रमुख, प्रमुख कार्यकारी अधिकृत, शिक्षा शाखाका प्रमुख, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लगायतसँग गरेको छलफलमा यस्तो सुझाव दिईएको हो । उनीहरुले शैक्षिकसत्र सुरु भएको घोषणा गर्न सकिएमा विद्यार्थीको सिकाइमा उत्प्रेरणा जाग्ने बताए । कोभिडको संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने वा नगर्ने निर्णयको अधिकार स्थानीय तहलाई नै दिँदा उपयुक्त हुने उनीहरुको भनाइ छ ।


सरकारले सुरु गरेको वैकल्पिक माध्यमको पढाइ सबै ठाउँमा प्रभावकारी हुन नसकेको बताउँदै उनीहरुले भने, यो विधिको पढाइमा स्थानीय तहले विद्यालयमार्फत विद्यार्थीलाई उपलब्ध गराएको स्व(अध्ययन सामग्री बढी प्रभावकारी छ ।
मन्त्री पोखरेलले कोभिडको कारण अवस्था प्रतिकुल रहेपनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिने तयारी भइरहेको जानकारी दिए । विद्यार्थीहरुको शैक्षिकसत्र खेरा जान नदिन पाठ्क्रमले तोकेको भार घटाउने वा अन्य विकल्प अपनाउने उनले बताए ।


मन्त्री पोखरेलले प्राप्त सुझावका आधारमा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ लाई परिमार्जन गरिने समेत जनाएका छन् ।