काठमाडौं/ ६ भदौ – अनलाइन शिक्षालाई नियमित क्रेडिट आवरमा जोड्ने सरकारले तयारी गरेको छ ।
शुक्रवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले मन्त्रिपरिषद्ले यस विषयमा छिट्टै निर्णय गर्ने जानकारी दिए ।
विश्वले अनलाइन शिक्षालाई स्वीकार गरेको र नेपालमा पनि खुला विश्वविद्यालय सुरु गरिसकेको अवस्थामा अनलाइन मार्फत शैक्षिकसत्र सुरु गर्न कुनै समस्या नरहेको उनको भनाइ छ ।
नेपालको सबै ठाउँमा फोर जी सेवा र इन्टरनेटको सुविधा नपुगेको उनको भनाइ छ । उनले विद्युत सेवा र इन्टरनेटको सुविधा नभएको क्षेत्रका बालबालिकालाई कसरी वैकल्पिक सिकाई विधिको व्यवस्था गर्नुपर्ने भएकाले निर्णय गर्न ढिलाइ भएको बताए ।
कोही अनलाइनमा पढ्ने र क्रेडिटआवर जोड्दै जाने कोहीको नजोडिने अवस्था आउने र कतै पढाइ भएर पढाइ सकिने, कतै शुरु नै नहुने र कतै आधामात्रै पढाइ हुने अवस्था पनि आउन नदिइने उनले स्पष्ट पार्दै उनले भने, यस्तै विषयमा एकरुपता होस भनेर निर्णय गर्नमा ढिलाइ गरिएको र यस विषयमा चाँडै मन्त्रिपरिषद्ले निर्णय लिनेछ ।
सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी शुरुमा भदौ १५ देखि विद्यालय सञ्चालन गर्न सकिने अनुमान गरेकाले पाठ्यक्रम समायोजनको विषयमा धेरै ध्यान नदिइएको उनले स्पष्ट पारे ।
अहिले तत्काल विद्यालय सञ्चालनको अवस्था नदेखिएकाले अब विद्यार्थीलाई शिक्षकले भौतिक दुरी कायम राखेरै भएपनि सिकाइ निरन्तरता दिनुपर्छ भन्ने निस्कर्षमा सरकार पुगेकाले यस विषयमा चाँडै निर्णय गरिने प्रवक्ता डा। खतिवडाले स्पष्ट पारे ।