काठमाडौं/५ भदौ – कक्षा ११ मा भर्ना हुनका लागि पुरानै सर्तहरु लागू गर्न नेपाल शिक्षक महासंघको आबद्ध संस्थाहरुले अपिल गरेका छन् । उनीहरुले भदौ २ गते पाठ्यक्रम विकास केन्द्रबाट जारी भएका कक्षा ११ को भर्नासम्बन्धी सूचनामा उल्लेखित शर्तले एसईई पास गरेका विद्यार्थीको ठुलो संख्यालाई कक्षा ११ को अध्ययनको अवसरबाट वञ्चित गर्ने निश्चित भएकाले नयाँ भर्ना आधार खारेज गरी पुरानै सर्तहरु यथावत् कायम गर्न अपिल गरेका छन् ।
संयुक्तरूपमा जारी अपिलमा एसईईको नतिजालाई लिएर अनावश्यक टिप्पणी आग्रह गरिएको छ । यस्तै, स्थायी, राहत, बालकक्षा, साविक, उमावि, विशेष शिक्षा, प्राविधिक धार तथा अस्थायी (करार) शिक्षक तथा विद्यालय कर्मचारीका सबै माग तथा सम्झौता सम्बोधन गर्न गरी अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने, अति न्यून वेतनमा काम गरिरहेका विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको अविलम्ब तलब वृद्धि गर्नुपर्ने अपिलपत्रमा उल्लेख छ ।
यस्तो विकट परिस्थितिमा कतिपय स्थानिय तहले शिक्षकलाई विद्यालयमा उपस्थितिका लागि जोर(जबर्जस्ती) गरेको सूचना प्राप्त भइरहेको हुँदा अमानवीय दबाब नगर्न सम्बन्धित स्थानिय तहहरुलाई आग्रह गरिएको छ । यसैगरी, दरबन्दी मिलानको अभियान स्थगन गर्न समेत आग्रह गरिएको छ ।
नेपाल शिक्षक संघ, सङ्घीय शिक्षक फोरम नेपाल, नेपाल राष्ट्रिय शिक्षक मञ्च, मधेसी शिक्षक फोरम लोकतान्त्रिक, लोकतान्त्रिक शिक्षक युनियन, मधेसी, आदिवासी शिक्षक संरक्षण मञ्च नेपाल, नेपाल शिक्षक मञ्च, नेपाल विद्यालय कर्मचारी परिषद् र नेपाल शिक्षक महासंघले संयुक्तरूपमा अपिल पत्रमा हस्ताक्षर गरेका छन् ।