के शिक्षकहरुको पेशागत संगठनमा अरु योग्य शिक्षकहरु छैनन् र ?

डा. हरिप्रसाद कंडेल

नेपाल शिक्षक महासङ्घको नेतृत्व विवाद चुलिँदै गएको छ । निवृत्त भएको व्यक्ति अध्यक्ष पदमा रहिरहन कत्तिको उचित हाे ? शिक्षा ऐन र महासंघकाे विधानमा निवृत्त व्यक्ति महासङ्घको अध्यक्ष हुन नपाउने व्यवस्था गरिएको भएपनि निवृत्त व्यक्तिले नै महासंघकाे नेतृत्व गरिरहे पछि विवाद उत्कर्ष विन्दुमा पुगेकाे हाे ।

महासंघकै घटक संघसंगठन यतिखेर अध्यक्षकाे पक्ष र विपक्षमा रहेर बाँडिएका छन् । महासंघमा आवद्ध विभिन्न ८ घटकले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको ध्यानाकर्षण समेत गराएका थिए । उमेर हदका कारण बाबुराम थापा गत चैतमा अवकास भएपनि अध्यक्षकै रुपमा कार्यवाहक छन् । थापा आवद्ध महासंघको घटक नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले अर्को व्यक्ति पठाउनु पर्ने भएपनि थापालाई नै निरन्तरता दिए पछि विवाद चुलिएको हाे ।

मेरो विचारमा नेपाल शिक्षक माहासंघको अध्यक्ष पद विवाद भएको कारण र अबको विकल्प निम्न छन् :

१. नेपाल शिक्षक महासङ्घका तात्कालिन अध्यक्ष अादरणीय बाबुराम थापाको गत चैत्र मसान्तमा ६० वर्षे उमेरहदका कारण अनिवार्य अवकास भएको तथ्य सत्य हो ।

२. तत्पश्चात उहाँ निवृत्त शिक्षक हुनु भए सँगै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको सदस्य पनि रहनु भएन ।

३. के पूर्व शिक्षकहरुले पेशागत संगठको नेतृत्व गर्ने आवश्यकता हो त ? अरु योग्य शिक्षकहरु छैनन् र ?

४. नेपाल शिक्षक संघले गोल्डेन ह्यण्डसेकबाट अवकास लिनु भएका सयौ शिक्षकहरु सबैलाई वाहाल रहेको शिक्षक संघ र महासंघको केन्द्र देखि स्थानिय तह सम्म तात्कालिनका सबै पदहरुबाट कार्य अधिकार नरहने गरी विदाई गरेको विषय अन्य घटक संस्थहरु र आम शिक्षकहरुले बुझ्न जरुरी छ ।

५. राष्ट्रिय परिषद्को माईन्युटमा अध्यक्ष मण्डलको सर्वसम्मतिमा विधान संसोधन गर्ने भन्ने वाक्यांस उल्लेखित छ । त्यो वाक्यांशको हक सबै परिषद सदस्यसँग रहेको छ । त्यसको वरखिलाप गर्ने अध्यक्ष मण्डलहरुको अधिकार हुदैन । जुन अहिलेको मुख्य विषय रहेको छ ।

६. नेपाल शिक्षक संघ बाबुराम थापाप्रति अनुदार होईन, किनकि उसले आफ्नै संगठनका उहाँ जस्ता सयौं साथिहरुलाई पेशा अन्त्य सँगै कार्यअधिकार पनि अन्त्य गरिसकेको छ ।

७.आदरणीय बाबुराम थापा सरले वर्तमान अवस्थामा आफू पदासिन हुने गरी गर्नु भएका प्रयत्नहरुले उहाँले कमाएको अलङ्कारहरुको संरक्षण गर्न नसकेको अनुभुति भएको छ । उहाँकाे उच्च नैतिकता देखाउनु नै श्रेष्ककर रहन्छ ।

८. शिक्षकका घटक संस्थाका राष्ट्रिय नेताहरुको समस्या समाधान भन्दा पनि पक्ष र विपक्ष उभिएर पक्षिकरणका विज्ञप्तिमा हस्ताक्षर गर्नु नेतृत्वको दुरदर्शिता नभएको देखिन्छ । घटक संस्थाले टिका लाएर दक्षिणा स्वरुप पद सोपान गर्ने प्रणाली पनि महासंघको एउटा रोग हुन गएको छ ।

९. सके सम्म केन्द्रिय घटक संस्थाका अध्यक्ष र महासचिवहरुको मिटिङ बसेर यसको अविलम्व समाधान खोज्नुहोस नभए राष्ट्रिय परिषद भेला मार्फत टुङ्गो लाउने निर्णय गरियोस ।

१०. नेपाल राष्ट्रिय शिक्षक संगठनले पनि उचित निर्णय लिनु पर्यो, नकि बाबुराम थापाका कारण देशभरि सिङ्गो संगठनको अकर्मण्यता प्रदर्शन होस् ।

११. देशका विद्यालय शिक्षाका तमाम पेशागत समस्याहरु यथास्थितिमा रहनु र कोरोनाबाट सृजित विद्यालय पठनपाठनका समस्याहरु अत्यन्त चिन्ताजनक अवस्थामा छ । इतिहासको सङ्घिन घडिमा देशभरका हामी शिक्षकहरु मुख दर्शक मात्र भएका छौं ।

लेखक शिक्षक संघ चितवनका अध्यक्ष,भीमोदय नमूना मावि, कालिका- ५,चितवनका प्रधानाध्यापक समेत हुन ।