दश महिनादेखि पोखरा विश्वविद्यालय नेतृत्व विहिन, तिस हजार विद्यार्थिको भविष्य अन्धकार

पोखरा/ ४ साउन – पोखरा विश्वविद्यालयमा १० महिनादेखि उपकुलपति लगायतका पद रिक्त हुँदा विश्वविद्यालय सञ्चालनमा समस्या आएको छ ।


नेपालका अन्य विश्वविद्यालयहरुले ढिलै भएपनि आफ्नो मूल नेतृत्व प्राप्त गरी सकेकोमा पोखरा विश्वविद्यालयकमा पटक पटक ३ महिने उपकुलपति नियुक्ति गरी अस्थीरता निम्त्याउने कार्य भइरहेको छ ।

विगत १० महिना देखि उपकुलपती, रजिष्ट्रार र त्यस लगत्तै तीनवटा संकायका डीन, कार्यकारी निर्देशक लगायत तीनवटै स्कुलका निर्देशकको पद रिक्त हुँदा विश्वविद्यालय ठप्प भएको पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति हेमराज पाण्डेले जानकारी दिएका छन् ।

विश्वविद्यालयको प्रमुख कार्यकारी पद लामो समय देखि खाली रहँदा विश्वविद्यालयको सर्वोच्च निकाय विश्वविद्यालय सभा हुन नसकी विद्यार्थिहरुको दिक्षान्त समारोह हुन नसक्नुका साथै विश्वविद्यालयको नीति निर्माण, प्राज्ञिक परिषद, कार्यकारी परिषदको बैठक हुन नसक्दा विश्वविद्यालयको प्राज्ञिक एवं प्रशासनिक निर्णयहरु प्रभावित भएको उनको भनाइ छ । पोखरा विश्वविद्यालय विगत लामो समयदेखि अस्थिरता र अनिश्चितताका बीच गुज्रिरहको छ ।


कोभिड १९ का कारण सम्पूर्ण शैक्षिक पात्रो वर्वाद भई सेमेस्टर अन्त्यका परीक्षा हुन नसकेकोले अर्को नयाँ सेमेस्टरका कक्षाहरु कसरी संचालन गर्ने, अनलाइन कक्षा कसरी संचालन गर्ने,अनलाइन परीक्षा कसरी संचालन गर्ने भन्ने विषयमा प्राज्ञिक परिषदले लिनु पर्ने निर्णय समेत प्रभावित हुँदा करीव तिस हजार विद्यार्थिको भविष्य अन्धकार बनेको उनले बताए ।